तस्करको गोदाममा प्रहरीकाे छापा : रातारात फर्जी कागजात बनाएर उन्मुक्ति दिएको खुलासा
मिति: २०२५-०५-०२ , समय : १३:४८:१६ , गामघर डेस्क
मिति: २०२५-०५-०२ , समय : १३:४८:१६ , गामघर डेस्क
गामघर डेस्क
सिरहा । मधेस प्रदेशको सिरहाको गोलबजारस्थित तस्करीका सामान भण्डारण गरिएको एक गोदाममा प्रहरी र भन्सारले छापा मारेर उन्मुक्ति दिएको छ । छापाका क्रममा गोदाममा भारतबाट ल्याइएका पाउडर दूध र चिनीलगायतका एक लाख बराबरको सामान भेटिए ।गोदाममा छापा हान्ने क्रममा गोलबजार व्यापार संघका अध्यक्ष विजय साहलगायत एक समूहले हुलदंगा गर्न पनि खोज्यो । त्यहाँ विवादको पनि सम्भावना देखिएको र राति अबेर भएको भन्दै टोली गोदामलाई सिल गर्दै फर्कियो । उनीहरु शुक्रबार पनि गोदाममा पुगे । तर, बिहीबार राति गोदाम सिल गरेको टोलीले शुक्रबार उन्मुक्ति दिएको छ ।
भन्सार कार्यालय, माडरका प्रमुख तोयानाथ सापकोटाले गोदाममा भेटिएका सामानहरु वैध पाइएको दाबी गरे । शुक्रबार पुगेको टोलीलाई गोदाम मालिकले सबै सामानहरुको करसहितको रसिद र प्रज्ञापनपत्र देखाएको उनको दाबी छ । जबकि, बिहीबार राति ती सामानको वैधता पुष्टि हुने कागजात देखाउन सकेका थिएनन् ।
प्रहरीलाई तस्करको गोदामबारे सूचना दिने स्रोतले आफूले सूचना दिएको झन्डै दुई घण्टापछि टोली गोदाममा आएको र त्यो अवधिमा तस्करले सामान अन्यत्र सार्ने काम गरेको उनको आरोप छ । ‘मैले सूचना दिएको झन्डै दुई घण्टापछि टोली आएको थियो, त्यो अवधिमा धेरै सामान अन्यत्र सारियो,’ उनले भने, ‘अनि जे जति सामान बरामद पनि भयो, यदि थियो भने राति नै उनीहरुले कागजात देखाउँथे नि, तर रातारात फर्जी कागजात बनाएर उन्मुक्ति दिने काम भएको छ ।’
प्रकाशित मिति: २०२५-०५-०२ , समय : १३:४८:१६ , 18 hours अगाडि