मधेस प्रदेशमा प्रेम सम्बन्धकै कारण एक युवकको हत्या : प्रेमिका र उनका श्रीमानसहित ६ जना पक्राउ
मिति: २०२५-०५-१९ , समय : १८:०७:३० , गामघर डेस्क
मिति: २०२५-०५-१९ , समय : १८:०७:३० , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, किसनपुरका २८ वर्षीय अरविन्द कुमार पण्डितको प्रेम सम्बन्धकै कारण हत्या भएको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमबार मलङ्गवामा पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो ।
हत्यामा संलग्न आरोपमा प्रहरीले २५ वर्षीया नजिमा खातुनसहित ६ जनालाई सार्वजनिक गरेको छ । नजिमा ईश्वरपुर नगरपालिका–६, चिरानटोलकी हुन् । उनी विवाहित र तीन सन्तानकी आमा हुन् । उनका ३० वर्षीय श्रीमान मोस्तकिम अंसारीसहित ४३ वर्षीय मोहम्मद हुसेन मोमिन, ४० वर्षीय सुयब अंसारी, २५ वर्षीय कोनूर आलम अंसारी र सलाउद्दिन अंसारी पक्राउ परेका अभियुक्त हुन् । सबै अभियुक्त आपसमा नातेदार रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतक अरविन्द र नजिमा बीच विगत केही वर्षदेखि प्रेम सम्बन्ध थियो । नजिमा विवाहित भए पनि उनीहरूबीचको सम्बन्ध निकै गहिरो थियो । चैत १९ गते उनीहरू घरबाट भागी भारत पुगेका थिए र त्यहाँ करिब एक महिना बसेर वैशाख २० गते नेपाल फर्किएका थिए ।
नेपाल फर्किएपछि गाउँका पञ्चले छलफल गरी नजिमालाई श्रीमान मोस्तकिमसँग राख्ने सहमति जुटाएका थिए । तर, अरविन्द निरन्तर नजिमालाई भेट्न पुगिरहन्थे । यसबाट गाउँलेहरू र नजिमाको परिवारमा तनाव उत्पन्न भएको थियो । यही तनावकै कारण नजिमा र उनका श्रीमान तथा आफन्तहरूले मिलेर अरविन्दको हत्या गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
वैशाख २८ गते बिहान ८ बजे नजिमाले अरविन्दलाई फूलजोर बाबा मन्दिर नजिक भेट्न बोलाएकी थिइन् । त्यसपछि अभियुक्तहरूले उनलाई ईश्वरपुर नगरपालिका–८ स्थित फूलजोर खोलातर्फ लगेर सामूहिक रूपमा मुख थुनी हत्या गरेका थिए ।
हत्या गरेपछि शवलाई घाँसपात र लहरीले छोपेर अभियुक्तहरू घर फर्किएका थिए । भोलिपल्ट वैशाख २९ गते राति ९ बजे शवलाई थकरिया चौरीस्थित उखुबारीमा लगेर फालेका थिए । वैशाख ३० गते बिहान साढे ८ बजे सडेको अवस्थामा शव फेला परेको थियो ।
शवको तत्काल सनाखत हुन नसके पनि वैशाख ३१ गते मृतकका दाजु अशोक कुमार पण्डितले प्रादेशिक अस्पताल मलङ्गवामा पुगेर शवको पहिचान गरेका थिए ।
प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काका अनुसार, हालसम्मको अनुसन्धानमा अरविन्दको हत्या प्रेम सम्बन्धका कारण योजनाबद्ध रूपमा भएको पुष्टि भएको छ । यता सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: २०२५-०५-१९ , समय : १८:०७:३० , 4 weeks अगाडि