सप्तरीमा सुरक्षा गार्डकै घरबाट बन्दुक चोरी : एक युवक पक्राउ

मिति: २०२५-०५-२३ , समय : १४:५४:५१ , गामघर डेस्क

तस्बिर : फाइल फाेटाे

गामघर डेस्क

राजविराज । सप्तरीको खडक नगरपालिका वडा न.७ कल्याणपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको बन्दुक चोरी भएको छ।

सुरक्षागार्ड बस्ने कोठामा १२ बोरको एकनाले बन्दुक, २० राउन्ड गोली, दुई थान मोबाइल र डिजिटल तराजुसहितका सामान चोरी भएको हो।

सप्तरीका एसपी ढकेन्द्र खतिवडाका अनुसार बिहीबार राति कोठामा भएको दराजबाट हतियार र गोली चोरी भएको हो। उक्त कोठामा सुरक्षा गार्डहरु सप्तरीकै शम्भुनाथ नगरपालिका वडा न.७ भंगाहाका ३९ वर्षीय प्रमोद चौधरी र कञ्चनरुप नगरपालिका वडा न.५ का ४४ वर्षीय पर्शुराम चौधरी बस्ने गरेका थिए।

दुवैजना कोठामै सुतेका बेला चोरी भएको प्रहरीले जनाएको छ। घटनाबारे बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय कल्याणपुरमा जानकारी गराईएको थियो।

प्रहरीले खोजतलास सुरु गरेपछि बिहान पौने ४ बजे सिराहाको लहान नगरपालिका–३ हस्पिटल चोकबाट चोरीमा संलग्न सप्तरीकै खडक नगपालिका–६ विसनपुरका २० वर्षीय अपसाद अन्सारीलाई पक्राउ गरेको छ।

उनको साथबाट हतियार र चोरी भएका अन्य सामानसहित ल्यापटप, कम्प्युटर स्क्यानर, खुकुरी र घडी दुई÷दुई थान, मोबाइल ५ थान, सिमकार्ड, स्पिकरलगायतका सामान बरामद भएको छ। अन्सारीले हतियार भने बैंकको ५ सय मिटर पश्चिम झाडीमा लुकाएका थिए। यता साे घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०५-२३ , समय : १४:५४:५१ , 4 weeks अगाडि