मधेस प्रदेश : अबैध काठसहित दुईवटा पिकअप भ्यान प्रहरीको नियन्त्रणमा

मिति: २०२५-०६-१९ , समय : १२:५५:२९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । सिन्धुलीको जंगलबाट चोरी तस्करी गरी ल्याइरहेको सालको काठसहित दुईवटा पिकअप भ्यान मधेस प्रदेशको सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीसहित दुई जना चालकहरु पनि पक्राउ परेका छन् ।

सिरहाको मिर्चैया नगरपालिका ७ फुलबरिया गाउँमा अवस्थित प्रहरी चेकपोष्टलाई छलेर भगाइएको पिकअप भ्यानलाई पिछा गर्दै रोकेर चेकजाँच गर्दा ती दुई गाडीहरुबाट सालको काठ बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको दुई गाडी प्रदेश ३–००१ च –७१४४ र प्रदेश १ –००१ च ८५९५ रहेका छन् ।
पक्राउ गरिएको गाडी र बरामद भएको काठ इलाका प्रहरी कार्यालय मिर्चैयाले मुचुल्कासहित डिभिजन वन कार्यालय लहानमा बुझाएको छ ।

डिभिजनल वन कार्यालयले सुरुमा काठसहितको गाडी बुझ्न आनाकानी गरेपनि मिडियाहरुमा खबर सार्वजनिक भएपछि बुझिलिएको थियो । पक्राउ परेको काठ गोलबजार नगरपालिका ४ स्थित गौरव समिलको रहेको मिल सञ्चालक करिया भन्ने श्याम गुप्ताले स्वीकार गरेका छन् । उनले भने,‘उक्त काठ मैले दाउराका लागि सिन्धुलीबाट खरिद गरेर ल्याएको हुँ ।’

तर सालको काठ दाउरा हुने लायकको नभई चिरान र गोलिया साइजको रहेको छ । पक्राउ परेको काठको कटान आदेश, एक जिल्लाबाट अर्को जिल्ला लैजाने अनुमति केही कागजपत्र नभएको प्रहरीले जनाएको छ ।

गौरव समिलका सञ्चालक काठ तस्करीमा बारम्वार पक्राउ पर्ने र वन कर्मचारीहरुसँग सेटिङ्गमा छुट्ने गरेका छन् । यसअघि उनी २०८० कार्तिक १८ मा पनि प्रतिवन्धित करम जातको जंगली काठ २५० क्युबी फिटसहित पक्राउ परेका थिए । तर नियामक निकायलाई मिलाएर उनी रिहा भएका थिए ।

सिरहा, सप्तरी उदयपुर र सिन्धुलीको जंगलबाट काठ तस्करी गरेर समिल चलाउनु उनको धन्दा नै बनेको छ । यस क्षेत्रमा श्याम गुप्तालाई वन विनाशक वा काठ तस्कर भनेर चिनिन्छ ।

यता सालको अवैध काठसहित पक्राउ परेका गाडी तथा काठ छुटाउन ठूलो चलखेल हुन थालेको छ ।

प्रकाशित मिति: २०२५-०६-१९ , समय : १२:५५:२९ , 8 hours अगाडि