मधेस प्रदेश : पत्नीको हत्या गरेको आरोपमा पति पक्राउ

पतिको बयान : “पत्नीले राम्रो व्यवहार गरिनन्, त्यसैले हत्या गरें”

मिति: २०२५-०६-२३ , समय : ०८:०६:२४ , गामघर डेस्क

फायल फाेटाे

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको पर्साको जगरनाथपुर गाउँपालिका–४ मा पत्नीको हत्या गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २३ वर्षीय सफी राजा मियाँ रहेका छन् ।

उनकी २१ वर्षीया पत्नी लालबिबी खातुन शनिबार राति आफ्नै सुत्ने कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । घटना भएको सूचना पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले शवको प्रारम्भिक मुचुल्का उठाएर पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाएको थियो ।

घटनापछि सुरु गरिएको अनुसन्धानमा खातुनको हत्या उनका पति सफी राजाले नै गरेको पुष्टि भएपछि आइतबार उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।

डीएसपी लम्सालका अनुसार मियाँलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराएर ज्यानसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानबाट दम्पतीबीच आपसी मनमुटाव, लामो समयदेखि बोलचाल बन्द भएको, र वैदेशिक रोजगारीबाट फर्किएका पतिलाई पत्नीले राम्रो व्यवहार नगरेको कारणले हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।

घरेलु हिंसाले ज्यानै जाने अवस्थासम्म पुगेको यस घटनाले समाजमा अझै पनि महिला हिंसाको खतरा कायमै रहेको देखाएको छ।

यता प्रहरीले घटनाको प्रकृति, पूर्वतयारी, मानसिक अवस्था लगायत सबै पक्षमा अनुसन्धान जारी राखेको जनाएको छ। स्थानीयवासी र मानवअधिकारकर्मीहरूले दोषीलाई कडा कारबाही हुनुपर्ने माग गर्दै घटनाको निष्पक्ष छानबिन र महिला हिंसाविरुद्ध प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

प्रकाशित मिति: २०२५-०६-२३ , समय : ०८:०६:२४ , 5 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित