सप्तरीको विष्णुपुर गाउँपालिकाको उत्कृष्ट पहल: तालिमप्राप्त ३२ जना महिलालाई निःशुल्क सिलाई मेसिन वितरण
मिति: २०२५-०६-२५ , समय : २१:१५:०७ , रबि शर्मा
मिति: २०२५-०६-२५ , समय : २१:१५:०७ , रबि शर्मा
रबि शर्मा
राजविराज ।
सशक्त महिला, समृद्ध समुदाय भन्ने नारालाई व्यवहारमा उतार्दै सप्तरीको बिष्णुपुर गाउँपालिकाले एक सकारात्मक र प्रेरणादायी कदम चालेको छ। पालिकाले ७५ दिने सिलाई कटाई तालिम सम्पन्न गरेका ३२ जना महिलालाई बुधबार एक कार्यक्रमका बीच निःशुल्क सिलाई मेसिन वितरण गरेको हो।
वडा नम्बर ६ का महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएको तालिमपछि गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले आफ्नै हातबाट मेसिन हस्तान्तरण गरे। उनले तालिमपछि घरमै बसेर काम गर्न पाउने व्यवस्था मिलाउन आवश्यक उपकरण उपलब्ध गराइएको बताए।
“सीप सिकाएर मात्र होइन, त्यसलाई व्यवहारमा प्रयोग गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ,” अध्यक्ष यादवले बताए, “त्यही सोचका साथ हामीले सबै सहभागी महिलालाई सिलाई मेसिन प्रदान गरेका छौं।”
यस कार्यक्रमले महिलाहरूलाई आत्मनिर्भर बनाउने मात्र नभई स्वरोजगारको बाटो पनि खोल्ने अपेक्षा गरिएको छ। सिलाई जस्ता घरेलु र लघु व्यवसायबाट महिलाहरूले आफ्नो जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउन सक्ने विश्वास गाउँपालिकाको छ।
स्थानीय तहबाट सुरु भएको यस्तो पहलले महिला सशक्तिकरणमा नयाँ उदाहरण प्रस्तुत गरेको छ। सहभागी महिलाहरूले पनि गाउँपालिकाको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो सीपलाई आम्दानीमा परिणत गर्ने प्रतिवद्धता जनाए।
यस प्रकारको कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा थप्ने र अन्य पालिकाहरूका लागि पनि प्रेरणाको स्रोत बन्ने विश्वास लिइएको छ।
प्रकाशित मिति: २०२५-०६-२५ , समय : २१:१५:०७ , 5 hours अगाडि