मधेस प्रदेशको ऐतिहासिक गहवामाईको तेस्रो रथ यात्रा : लाखौँ श्रद्धालु भक्तजनकाे सहभागीता
मिति: २०२५-०६-२७ , समय : १३:२५:२३ , गामघर डेस्क
मिति: २०२५-०६-२७ , समय : १३:२५:२३ , गामघर डेस्क
गामघर डेस्क
वीरगञ्ज । मधेस प्रदेशको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा श्री गहवामाई रथ यात्रा आज शुक्रवार भव्य रूपमा सम्पन्न भएको छ ।
गहवामाई तीर्थ क्षेत्र विकास समितिद्वारा गठित रथ यात्रा धार्मिक समन्वय समितिले गहवामाई मन्दिरको पुनर्निर्माणको १६ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तेस्रो रथ यात्रामा एक लाख भन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको समितिले जनाएको छ ।
निर्धारित समयभन्दा केही ढिलो गरी बिहान ८ बजे गहवामाई मन्दिरमा विशेष पूजापाठसहित सुरु भएको रथ यात्रा घण्टाघर चोक, रेल्वे रोड, नगवा, छपकैयाको छठघाट चोक हुँदै वीरगञ्जको मुख्य सडकमा पर्ने बिर्ता, आदर्शनगर, महावीरस्थान हुँदै पुनः गहवामाई मन्दिरमा पुगेर समापन भएको थियो ।
रथ यात्रामा वीरगञ्जसहित पर्सा जिल्लाका विभिन्न स्थानीय तह, बारा, रौतहट, सर्लाही, मकवानपुर, चितवन र काठमाडौँबाट समेत श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको समितिका अध्यक्ष श्यामकुमार पोखरेलले बताए । उनका अनुसार, सीमावर्ती भारतीय सहरहरू रक्सौल, मोतिहारी, बेतिया, रामगढवा र अरेराजबाट पनि ठूलो सङ्ख्यामा श्रद्धालुहरूले सहभागिता जनाएका थिए ।
रथ यात्रालाई वीरगञ्जवासीले विभिन्न स्थानमा भव्य स्वागत गरेका थिए । नगरवासीहरूले रथमाथि पुष्प वर्षा गर्नुका साथै सहभागी श्रद्धालुहरूका लागि पानी, जुसलगायतको व्यवस्था गरेका थिए । सहभागीहरूले भगवा र रातो रङ्गको लुगा लगाएर गहवामाईको जयजयकार गरेका थिए ।
विगत तीन वर्षदेखि आयोजना हुँदै आएको रथ यात्रा अब परम्परामा मात्र सीमित नरही एउटा भव्य पर्वको रूप लिइसकेको छ । रथ यात्राको अवसरमा वीरगञ्ज महानगरपालिकाले नगरका सम्पूर्ण विद्यालयहरूमा आज सार्वजनिक बिदा घोषणा गरेको थियो ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले रथ यात्राले धार्मिक सन्देश प्रवाह गर्नुका साथै गहवामाई मन्दिरको प्रचारप्रसार र वीरगञ्जलाई धार्मिक पर्यटकीय क्षेत्रको रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताए । उनले आगामी वर्षदेखि रथ यात्राका लागि महानगरपालिकाले विशेष बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रथ यात्राको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साले विशेष सुरक्षाको व्यवस्था गरेर सयौँको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो ।
समितिका सचिव पप्पु गुप्ताले रथ यात्रा मधेस प्रदेशकै पहिलो धार्मिक झाँकीसहितको सांस्कृतिक रथ यात्रा भएको दाबी गरेका थिए । रथ यात्रासँगै छपन्न भोग, भजन-कीर्तन, महाप्रसाद र भव्य भन्डारा कार्यक्रम पनि आयोजना गरिने गुप्ताले जानकारी दिए ।
आज बेलुका ७ बजे छपन्न भोग प्रसाद वितरण गरिने कार्यक्रम रहेको छ भने भोली शनिवार बिहान ६ बजेदेखि महाप्रसाद वितरण र साँझ ४ बजेदेखि भन्डाराको कार्यक्रम रहेको उनले बताए । महाप्रसाद वितरण र भन्डारामा पनि लाखौँ श्रद्धालुले प्रसाद ग्रहण गर्ने अपेक्षा रहेको उनले बताए ।
समितिका अध्यक्ष पोखरेलका अनुसार, रथ यात्रा र समग्र महोत्सवको अनुमानित खर्च २५ लाख रुपैयाँ रहेको छ । रथ यात्रालाई थप प्रभावकारी बनाउन समितिले रक्तदान र स्वास्थ्य शिविरजस्ता सामाजिक कार्यक्रमहरू पनि सञ्चालन गरेको थियो । समितिले रथ यात्रा सम्पन्न भएपछि सम्पूर्ण आर्थिक प्रतिवेदन पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ ।
धार्मिक पर्यटन प्रवर्द्धन, सनातनी परम्पराको संरक्षण र सामाजिक एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित रथ यात्रा ऐतिहासिक बनेको समितिको विश्वास छ ।
प्रकाशित मिति: २०२५-०६-२७ , समय : १३:२५:२३ , 5 hours अगाडि