एसईई नतिजा सार्वजनिक : एसईईमा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण

मिति: २०२५-०६-२७ , समय : २१:०६:५७ , शुभ नारायण यादब

तस्बिर : सामाजिक सन्जालबाट

शुभ नारायण यादब

काठमाण्डाै । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । केहीबेरअघि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसईईको नतिजा सार्वजनिक भएको हो ।

यो वर्षको एसईईमा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । यो गएको वर्षको भन्दा झन्डै १४ प्रतिशतले धेरै हो । गएको वर्ष ४८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए।

बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसईईमा ३ दशमलव ६० देखि ४ दशमलव ० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १ सय ७७ रहेको छ ।

यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको सङ्ख्या ८१ हजार ३ सय ८५ र २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको सङ्ख्या ८९ हजार १ सय २४ रहेको छ ।

यसैगरी ४८ हजार ४ सय ७९ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए, ४ हजार १ सय २६ जनाले २ देखि २ दशमलव ४ जीपीए र ८ जनाले १ दशमलव ६ देखि २ जीपीए ल्याएका बोर्डका अध्यक्ष शर्माले बताउनुभयो ।

यस्तै १ सय २६ जना विद्यार्थीको परीक्षा रद्द भएको छ । नन ग्रेड भएका विद्यार्थीहरूले साउन २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् ।

यस वर्षकाे एसईई परीक्षा गएकाे चैत ७ गते शुरू भई १९ गते सकिएकाे थियाे । एसईईमा ५ लाख जनाभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए ।

यसरी हेर्न सकिन्छ नतिजा :

एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस ३५००१, ३४९४९, ३१००३, ३४४५५ र १६०० र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: २०२५-०६-२७ , समय : २१:०६:५७ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित