मधेस प्रदेश : छुरा प्रहार गरी आफ्नै ससुराको हत्या गर्ने ज्वाइँ पक्राउ
मिति: २०२५-०७-०९ , समय : १३:२४:१६ , गामघर डेस्क
मिति: २०२५-०७-०९ , समय : १३:२४:१६ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको धनुषाको जनकपुरमा आफ्नै ससुराको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ ।
गत असार १८ गते बिहान धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा न.१५ कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद साह विमलको हत्या आरोपमा उनका ज्वाइँ, जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचन महासेठलाई पक्राउ गरिएको हो ।
धनुषाका प्रहरी उपरीक्षक (एसपी) नरहरि रेग्मीका अनुसार, घटनापछि फरार रहेका महासेठलाई एक सातापछि मंगलबार जनकनन्दनी गाउँपालिकास्थित रेल्वे स्टेशनबाट पक्राउ गरिएको हो । पक्राउ गर्ने क्रममा अभियुक्तसँग हत्या प्रयोग गरिएको छुरा पनि बरामद गरिएको छ ।
एसपी रेग्मीका अनुसार घरायसी विवादकै कारण महासेठले ससुराको पेटमा चार पटक छुरा प्रहार गरेका थिए । मृतक बासुदेवप्रसाद साह जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका हुन् ।
यता पक्राउ परेका महासेठमाथि थप अनुसन्धान भइरहेको र कर्तव्यज्यान मुद्दामा कारबाही अघि बढाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०७-०९ , समय : १३:२४:१६ , 5 hours अगाडि