सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर बजारमा सुंगुरको आतंक, जनजीवन अस्तव्यस्त

मिति: २०२५-०८-०५ , समय : ०७:४१:३० , रबि शर्मा

तस्बिर : रबि शर्मा / गामघर टिभि , हनुमाननगर

रबि शर्मा

हनुमाननगर (सप्तरी) । सप्तरीको प्रमुख व्यापारिक केन्द्र तथा पुरानो सदरमुकाम हनुमाननगर बजार हाल सुंगुरको साम्राज्यमा परिणत भएको छ । फोहोर, दुर्गन्ध र सुंगुरको बथानले व्यापारी र सर्वसाधारण त्रसित छन् । बजारका मुख्य सडक र चोकमा दर्जनौं सुंगुर घुमिरहन्छन्, जसले फोहोर छ्यापेर दुर्गन्ध फैलाउने गरेका छन् ।

स्थानीय व्यापारी अनिल साह भन्छन्, “सफा वातावरण बिना व्यापार घट्दै छ, नगरपालिका सुतेको छ जस्तो छ ।” पत्रकार कमल मण्डलका अनुसार साँझपख त सडक नै सुंगुरको मञ्च जस्तो देखिन्छ ।

जनप्रतिनिधि मौन छन् भने नगरपालिकाले नियमित फोहोर संकलन र सफाइको व्यवस्था गर्न सकेको छैन ।

स्वास्थ्यकर्मी सुमन झाका अनुसार यस्तो वातावरणमा डेंगु, झाडापखाला र हैजाजस्ता रोग फैलिने खतरा उच्च छ । अनियन्त्रित पार्किङ, फुटपाथमा पसल विस्तार र नालामा फोहोरले बजार झन् अस्तव्यस्त बनेको छ ।

स्थानीय बासिन्दाले नगरपालिकासँग सुंगुर नियन्त्रण, फोहोर व्यवस्थापन र बजार सुधारको माग गरेका छन् । चेतावनी दिँदै उनीहरू भन्छन् – “अब पनि बेवास्ता भए सडकमा उत्रेर आन्दोलन गर्छौं ।”

प्रकाशित मिति: २०२५-०८-०५ , समय : ०७:४१:३० , 12 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित