समाचारकाे प्रभाव : नर्सरीमा बिरुवा ग्रेडिङ र खाली पोलिथिनमा धमाधम बिरुवा रोप्दै

मिति: २०२५-०८-०५ , समय : १६:५३:४९ , देबराम यादब

तस्बिर : देबराम यादव / गामघर टिभि

देबराम यादब

राजविराज ।
जिल्लामा बिरुवा उत्पादन नै नगरी भुक्तानी लिएको समाचार यस गामघर डटकममा प्रकाशित भएपछि डिभिजन वन कार्यालय लहान सिरहाले नर्सरीहरुमा उत्पादित बिरुवाको ग्रेडिङ गरिरहेको छ । सव डिभिजन वन कार्यालय गोलबजार चोहर्बाले नर्सरीमा भएको बिरुवा ग्रेडिङ गरी खाली पोलिथिनमा बिरुवा रोपिरहेको हो ।
सव डिभिजन वन कार्यालय गोलबजार चोहर्बाका प्रमुख सहायक वन अधिकृत आवेद हुसेनले बिरुवा उत्पादनको भूक्तानी गत आर्थिक वर्षमा लिएर फरफारक गरेको तर समाचार प्रकाशित भएपछि चालु आर्थिक वर्षमा ग्रेडिङ थालेको छ । उहाँले स्थापना गरेको नर्सरीको बेडमा बिरुवाबिनाको खाली पोलिथिन रहेको तस्बिरसहितको समाचार प्रकाशित भएपछि खाली पोलिथिन हटाएर बिरुवाको ग्रेडिङ थालेको हो ।
सहायक वन अधिकृत हुसेनले ३५ हजार बिरुवा उत्पादन गरेर डिभिजन वन कार्यालय लहान, सिरहाबाट कमिशनको बलमा ८० हजार बिरुवाको भूक्तानी लिएको छ । उहाँले उक्त बिरुवा उत्पादनको भुक्तानी लिएर फरफारक गरिसकेर समाचार प्रकाशित भएपछि खाली पोलिथिन हटाएर ग्रडिङ थालेको हो । डिभिजन वन कार्यालय लहानले सव डिभिजन वन कार्यालय गोलबजार चोहर्बाका प्रमुख सहायक वन अधिकृत आवेद हुसेनलाई आर्थिक वर्ष २०८१र०८२ मा ४० हजार एक वर्षे र ४० हजार दुई वर्षे गरी ८० हजार बिरुवा उत्पादन कार्यक्रम दिएको हो ।
सहायक वन अधिकृत हुसेनले खाली पोलिथिनमा अहिले धमाधम बाहिरबाट खदिद गरेर ल्याएको निमको बिरुवा रोपिरहेको छ । २० रुपैयाँ प्रति बिरुवा उत्पादनको भुक्तानी लिएका हुसेनले निजी नर्सरीबाट १ रुपैयाँ प्रति बिरुवाको दरले खरिद गरेर निमको बिरुवा खाली पोलिथिनमा रोपिरहेको डिभिजन वन कार्यालय स्रोतले जनाएको छ ।
सहायक वन अधिकृत हुसेनले चोहर्बास्थित सव डिभिजन वन कार्यालय परिसरमा २५ वटा नर्सरी बेडमा र उक्त कार्यालयको उत्तरपट्टी ८ वटा नर्सरी बेडमा बिरुवा उत्पादन गरेको छ । कार्यालय परिसरको नर्सरी बेड एक मिटर चौडाई र करिब २० मिटर लम्बाई र उत्तरपट्टीको नर्सरीमा एक मिटर चौडाई र १० मिटर लम्बाईको बेड रहेको छ । २० मिटर लम्बाई भएको बेडमा एक वर्षे बिरुवा अधिकतम २३ सय र दुई वर्षे बिरुवा १८ सय उत्पादन क्षमता रहेको नीजी नर्सरी सञ्चालक सुरेन्द्र महतो बताउँछन ।
दुबै नर्सरीमा गरी अधिकतम ६५ हजार बिरुवा उत्पादन क्षमता रहेको तर त्यसमा पनि अधिकतम ५५ प्रतिशत मात्रै बिरुवा रहेको देखियो । सहायक वन अधिकृत हुसेनले दुबै नर्सरीमा अधिकतम ३५ हजार बिरुवा उत्पादन गरेको वन प्राविधिकको भनाइ छ । तर ती बिरुवाहरु पनि गुणस्तरी नरहेको छ । उहाँले उत्पादन गरेको एक वर्षे बिरुवा बितरण गरिसक्नु पर्ने वा वृक्षारोपण गरिसक्नु पर्नेमा अहिले बल्ल ग्रेडिङ थालेको प्रत्यक्षदर्शीको भनाइ छ । उहाँले उत्पादन गरेको बिरुवा गुणस्तरीय नभएकोले बितरण र वृक्षारोपण नगरिएको डिभिजन वन कार्यालय स्रोतले जनाएको छ ।
सहायक वन अधिकृत हुसेनले नै घुर्मी खोलाको नदी उकास जग्गामा वृक्षारोपणका लागि १२ लाख ५० हजार बजेट हात पारेका छन् । तर उहाँले हालसम्म वृक्षारोपण गरेको छैन । वृक्षारोपण क्षेत्रमा फेन्सिङ (तारवारले घेराबेरा) र वृक्षारोपणका लागि खाल्डोसमेत नखनेको प्रत्यक्षदर्शी रामचन्द्र कुशवाहा बताउँछन । सहायक वन अधिकृत हुसेनले उत्पादन गरेको बिरुवा नै वृक्षारोपणका लागि उपयुक्त नभएकाले समयमा वृक्षारोपण हुन नसकेको डिभिजन वन कार्यालयका प्राविधिकको भनाइ छ । सहायक वन अधिकृत हुसेनले उक्त नदी उकास जग्गामा गुणस्तरीय बिरुवा नरोपिएको स्थानिय बताउँछन । नीजी नर्सरी सञ्चालक सुरेन्द्र महतोका अनुसार एक फिट अग्लो बिरुवा रोप्नुपर्नेमा ६ इञ्चको बिरुवा रोपेर बजेट पचाउन खोजेको आरोप लगाउनु भयो । वृक्षारोपणका लागि न्यूनतम एक फिट अग्लो एक वर्षे बिरुवा रोप्नु पर्ने मापदण्ड रहेको वन प्राविधिकको भनाइ छ ।
एक वर्षे बिरुवा उत्पादनका लागि प्रति बिरुवा १० रुपैयाँ र दुई वर्षे बिरुवा उत्पादनका लागि प्रति बिरुवा २० रुपैयाँ बजेट रहेको छ । यो हिसाबले ४० हजार एक वर्षे बिरुवा उत्पादनका लागि ४ लाख र ४० हजार दुई वर्षे बिरुवा उत्पादनका लागि ८ लाख बजेट सहायक वन अधिकृत हुसेनलाई डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्रकुमार मिश्रले कमिशनको बलमा भुक्तानी दिएको छ ।
वन प्राविधिकका अनुसार हुसेनले अधिकतम ५ लाख मूल्य बराबरको बिरुवा उत्पादन गरेर १२ लाख भुक्तानी लिएका छन् । वन प्राविधिकको भनाइ अनुसार सहायक वन अधिकृत हुसेनले बिरुवा नै उत्पादन नगरी ७ लाख रुपैयाँ सित्तैमा भुक्तानी लिएका हुन् ।
यस्तै, लक्ष्य अनुसार बिरुवा नै उत्पादन नगरी भुक्तानी लिएका जिल्ला सिरहाका डिभिजन वन कार्यालय लहानका योजना शाखा प्रमुख राधेश्याम चौधरीले पनि खाली पोलिथिनमा हतार हतार बिरुवा रोपेका छन् । असार १५ गतेभित्रै लक्ष्य अनुसारको बिरुवा उत्पादन गरेको भन्दै भुक्तानी लिएर फरफारक गराएका उहाँले समाचार प्रकाशित भएपछि हतार हतार खाली पोलिथिनमा बिरुवा रोपेका हुन् ।
डिभिजन वन कार्यालय लहानका सूचना अधिकारीसमेत रहेका चौधरीले समृद्धिका लागि वन कार्यक्रम अन्तर्गत १७ लाख ६० हजार लागतमा ८० हजार दुई वर्षे बिरुवा उत्पादन गर्ने कार्यक्रम भगवानपुरमा सञ्चालन गरेको छ । प्रति बिरुवा २० रुपैयाँ लागतमा उत्पादनका लागि प्रदेश सरकारले खर्च गरेको छ । तर बिरुवा नै उत्पादन नगरी चौधरीले भुक्तानी लिएको छ । चौधरीले लक्ष्यको ५० प्रतिशत मात्रै बिरुवा उत्पादन गरेर शतप्रतिशत भुत्तानी लिएको कार्यालय स्रोतले जनाएको छ ।
चौधरीले भगवानपुर नर्सरीमा ८० हजार बिरुवा उत्पादन गर्नेमा ४० हजार बिरुवा समेत उत्पादन गरेको छैन । भगवानपुर नर्सरीमा ८ वटा नर्सरी बेडमा खाली पोलिथिन मात्रै रहेको थियो । भगवानपुर नर्सरीका नाइकेले पत्रकारहरु नर्सरी हेर्न आउन थालेपछि खाली पोलिथिनमा अहिले बिरुवा रोप्न थालेको बताउनु भयो ।
सहायक वन अधिकृतद्वय हुसेन र चौधरीले उत्पादन गरेको बिरुवाको डिभिजन वन कार्यालय लहानका प्रमुख शैलेन्द्र कुमार मिश्रले अनुगमन गरेर जाँच पास गरेपछि मात्रै बजेट निकासा हुनुपर्ने बताएका छन ।

प्रकाशित मिति: २०२५-०८-०५ , समय : १६:५३:४९ , 5 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित