सप्तरी सहित तराई मधेशमा वर्षा भएपछि धान रोपाइँमा व्यस्त किसानहरु
मिति: २०२५-०८-०५ , समय : २२:०८:५० , देबराम यादव
मिति: २०२५-०८-०५ , समय : २२:०८:५० , देबराम यादव
देबराम यादव
राजविराज ।
तराई मधेशमा लामो समयदेखि खडेरीपछि वर्षा भएकाले किसानले धान रोपाइँ सुरु गरेका छन्।
सिँचाइको अभावका कारण किसानले लामो समयसम्म खेत बाँझो छाड्नुपरेको सप्तरीको महादेवा गाउँपालिका १ का बासुदेव यादव बताउँछन ।उहाँले यस वर्षाले किसानलाई राहत दिएको छ, तर अझै पनि केही खेतमा रोपाइँ गर्न पर्याप्त पानी छैन।
खडेरीले आक्रान्त मधेशमा दुई दिनयताको वर्षापछि धमाधम रोपाइँ सुरु भएको छ । सिँचाइ सुविधा नहुँदा आधा साउनसम्म खेत बाँझो छाडेका किसानले गत सोमवार दिनभर रोपाइँ गरेका हुन् ।
तिरहुत गाउँपालिका–४ डिमनका रामअशिष मुखियाले १ बिघा जग्गामा धान खेती गर्दै आएका छन् । पानी नपर्दा रोपाइँको आस मारिसकेका उहाँले सोमबार दश कट्ठामा धान रोपेका छन । ‘सधैं असारमै रोपिसक्थ्यौं यसपालि त वर्षा हुने छाँट नदेखिँदा आसै मरिसकेको थियो,’ उहाँले भने, ‘शनिबार रातिको वर्षा सञ्जीवनी नै बनेको बताउनु भयो ।
जिल्लामा एक सातायता छिटफुट वर्षा भइरहे पनि खेतमा पानी नभरिएर उनीहरू चिन्तित थिए । शनिबार रातभरि पानी परेपछि विद्युतीय मोटर र पम्पिङ सेटबाट पानी थपेर रोपाइँ गरिरहेका छन् । ‘रातभर वर्षा भए पनि रोपाइँ गर्न पर्याप्त पानी पुगेको छैन,’ राजविराज नगरपालिका–१५ भरुवाका ६० वर्षीय अरविन्द यादवले भने, ‘जसोतसो रोपाइँ गरिसकेका धानका लागि रातिको वर्षाले राहत भए पनि बाँझो खेतमा त पानी भरिएकै छैन ।’ अब धान रोप्न धेरै ढिलो भइसकेकाले बाँझो खेतमा पम्पसेटले पानी थपेर रोपाइँ गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भयो ।
राजविराज–११ फर्सैठका किसानलाई कोशी पम्प नहरबाट मोटरले पानी तान्ने चटारो छ । वर्षा सुरु भएदेखि नै नहरबाट तानेर खेतमा पानी थपिरहेका छन् । नहरमा पानी भरिभराउ रहे पनि उत्तरतर्फ रहेको माथिल्लो सतहका खेतमा पानी पुग्दैन । केही किसानले नहरबाट मोटर जोडेर रोपाइँ गरेका छन् । जिल्लाको पश्चिमी भेगका केही स्थानमा भने धान रोप्न मजदुरको अभाव भएको छ । ‘आफैंले जोतेर खेत तयार त गरें, तर मजदुर पाउनै मुस्किल परेको ,’ बलान बिहुल गाउँपालिका–४ का ३८ वर्षीय अनिल साहले भने, ‘यहाँका सबैजसो किसान वर्षाकै भरमा खेती गर्छन्, बल्ल पानी परेर सबै रोपाइँमा व्यस्त हुँदा मजदुर पाउन सहज छैन ।’
हनुमाननगर कङ्कालिनी नगरपालिकाका भलुवाका ब्लबल यादवले आफ्नो खेत कोशी बाँधको किनारमा भएकाले सिँचाइको कुनै सुविधा थिएन । शनिबार परेको पानीले धान रोपेको बताउनुभयो ।
उहाँका अनुसार आकाशे पानीको सहायताले १ विधा खेतमा धान रोपेको बताउनु भयो । शनिबार परेको पानीले रोपाइँ गर्नका लागि सहज भएको छ । ढिलो भएकाले खर्च र मेहनत अनुसार उत्पादन नभए पनि वर्षभरि छाक टार्न सहज हुन्छ भन्ने आस रहेको बताउनु भयो ।
राजविराज नगरपालिका–१ डुमरी का देवकिसुन यादवले यसपालि सिँचाइको मुख्य माध्यम बोरिङ बनेको बताउनुभयो । पहिले पहिले एक कट्ठा खेतमा पानी पटाउन एक घण्टा समय लाग्थ्यो । एक घण्टाको अढाईदेखि तीन सय लाग्थ्यो । यसपालि आकाशे पानी नपरेकाले खेत सुक्खा थियोे । एक कट्ठा पटाउन चारदेखि पाँच घण्टामा एक हजार खर्चिनु परेको बताउनुभयो । तर शनिबार परेको पानीले रोपाइँ गर्नका लागि सहज भएको बताउनु भयो ।
उहाँका अनुसार ‘‘रोपाइँ, धानमा आवश्यक पर्ने मल, कमौनी लगायतको खर्च यस वर्षमा गत शनिबार राति परेको पानीले हटेको उहाँले बताउनुभो । उहाँले , ‘‘किसानलाई महँगीका कारण खेती गर्न सकस हुँदै आए पनि यसपालिको खेतीमा थप आर्थिक भार परेको बताउनु भयो ।’’
सप्तरी जिल्लामा साउन २० गतेसम्ममा ४५ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । जिल्लामा बिगतका वर्षहरूमा यति बेला रोपाइँ सम्पन्न हुँदै आए पनि यसपालि अहिलेसम्म जिल्लामा रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र सप्तरीका कार्यालय प्रमुख किसुनदेव राउतले बताउनुभयो ।
जिल्लामा कुल कृषि योग्य जग्गा ८१ हजार हेक्टर क्षेत्रफल रहेको छ । जसमध्ये ६८ हजार हेक्टर क्षेत्रफल जग्गामा धान खेती भइरहेको छ । जसमध्ये २३ हजार ८ सय अर्थात् ३२ देखि ३४ प्रतिशत जग्गामा मात्र सिँचाइ रहेको छ । गत वर्ष यो अवधिसम्ममा ८५ प्रतिशत हाराहारीमा रोपाइँ भएको थियो ।
प्रकाशित मिति: २०२५-०८-०५ , समय : २२:०८:५० , 3 hours अगाडि