मधेस प्रदेश : बालिकालाई तीन दिनसम्म बन्धक बनाई पालैपालो बलात्कार गरेको खुलासा

मिति: २०२५-०८-०८ , समय : १४:३७:३२ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको वीरगन्जको एक लजमा १७ वर्षीया बालिकालाई तीन दिनसम्म बन्धक बनाई पालैपालो बलात्कार गरेको आरोपमा फरार रहेका दुई अभियुक्तलाई प्रहरीले तीन महिनापछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–२ का ४० वर्षीय नेक महमद र रौतहटका २१ वर्षीय अफताब अन्सारी रहेका छन्। दुवै जनालाई मंगलबार दिउँसो वीरगन्ज–१५ स्थित प्रतिमा चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
पक्राउ परेका नेक महमद वीरगन्ज–१३ राधेमाईस्थित नेक मोटरसाइकल वर्कशपका सञ्चालक हुन् भने अफताब अन्सारी सोही वर्कशपमा काम गर्ने कर्मचारी हुन्।
घटना वैशाख २० गतेको हो। पर्साको बरैनिया घर भएकी १७ वर्षीया बालिका बिहान बाख्रा बाँधेर घर फर्किंदै गर्दा बाटोमै दुवैले घेरा हालेर नियन्त्रणमा लिएका थिए। प्रहरीले जनाएअनुसार ती बालिकाको मुखमा कपडा कोचिएको थियो र आँखामा कालोपट्टी बाँधेर उनलाई वीरगन्ज नयाँ बसपार्कस्थित गणेश होटल एण्ड लजको एक कोठामा लगिएको थियो।
उक्त लजमा तीन दिनसम्म बन्धक बनाइ दुवैले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ। वैशाख २३ गते बिहान ८ बजे पीडितलाई वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी नजिकैको गल्लीमा छाडेर अभियुक्तहरू फरार भएका थिए।
घटनापछि पीडित बालिकाले वीरगन्ज प्रहरीमा किटानी जाहेरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानमा खटिएको टोलीले दुवै अभियुक्तलाई पहिचान गरी पक्राउ गर्न सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार, दुवैलाई अपहरण, शरीर बन्धक र जबरजस्ती करणीसम्बन्धी कसुरमा हिरासतमा राखी पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमतिसहित अनुसन्धान अगाडि बढाइएको छ।

प्रकाशित मिति: २०२५-०८-०८ , समय : १४:३७:३२ , 1 day अगाडि

यहाँ कमेन्ट गर्नुहोस्