हनुमाननगरका ४०० बालबालिकालाई ब्यागसहित शैक्षिक सामग्री वितरण
मिति: २०२५-०८-१८ , समय : ०८:०७:३१ , रबि शर्मा
मिति: २०२५-०८-१८ , समय : ०८:०७:३१ , रबि शर्मा
रबि शर्मा
हनुमाननगर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर -१२ स्थित लिज्जा ठाकुर रा.प्रा.विमा आइतबार आयोजित एक विशेष कार्यक्रमका बिच ४०० जना विद्यार्थीलाई स्कुल ब्यागसहित शैक्षिक सामग्री वितरण गरिएको छ।
सामाजिक जीवन केन्द्र नेपालको आयोजनामा तथा कतार च्यारिटी नेपालको सहयोगमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई ब्याग मात्र नभई शैक्षिक सामग्रीसहित छाता, टिफिन बक्स र खानेपानी बोतल समेत हस्तान्तरण गरिएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। यस किसिमको सहयोगले विद्यार्थीहरूलाई विद्यालय जीवनमा थप सहजता र उत्साह प्रदान गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडी रहेका थिए। उहाँले बालबालिकाको शिक्षामा सहयोग पुगने उद्देश्यले गरिएको यो अभियानले विद्यार्थीलाई नियमित रूपमा विद्यालयमा उपस्थित गराउन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।
यसअघि शनिबार हनुमाननगर–७ स्थित दुख्नी देवी धर्मशालामा विपन्न तथा अशक्त परिवारलाई सिलाई मेसिन, कुखुरा पालन फर्म, ह्विलचेयर, ट्राइसाइकल, अटोमेटिक ह्विलचेयर र चापाकलजस्ता सामग्री हस्तान्तरण गरिएको थियो।
ब्यागसहितका सामग्री पाएपछि विद्यालयका विद्यार्थी तथा अभिभावकले खुसी व्यक्त गरेका थिए। स्थानीय जनप्रतिनिधि, पत्रकार,विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीहरूको उत्साहजनक सहभागितामा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले यस किसिमको सहयोगले बालबालिकामा पढाइप्रतिको आकर्षण बढाउने, विद्यालयप्रतिको आस्था गहिरो बनाउने र शैक्षिक यात्रामा सकारात्मक उर्जा थप्ने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: २०२५-०८-१८ , समय : ०८:०७:३१ , 3 hours अगाडि