सर्वोच्चको परमादेश विरुद्ध विरोध प्रदर्शन : अनिश्चितकालीन मधेश बन्द घोषणा गर्ने जसपाको चेतावनी
मिति: २०२५-०८-२० , समय : ०७:२९:१० , देबराम यादव /लक्ष्मी चौधरी
मिति: २०२५-०८-२० , समय : ०७:२९:१० , देबराम यादव /लक्ष्मी चौधरी
देबराम यादव /लक्ष्मी चौधरी
राजविराज ।
सर्वोच्च अदालतको परमादेश विरुद्ध मंगलबार राजविराजमा विरोध प्रदर्शन गरिएको छ ।
गौर घटनामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतको परमादेशको विरुद्धमा प्रदर्शन गरिएको हो ।
जसपा सप्तरीको आहवानमा राजविराज स्थित शिवनन्देश्वर महादेव मन्दिरबाट सुरु भएको ¥याली नगरको विभिन्न भागको परिक्रमा गरी नेता चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा वक्ताहरूले सरकारले राजनीतिक प्रतिशोधका लागि गौर प्रकरणलाई पुनः जीवित तुल्याएको आरोप लगाउनु भएको छ ।
उनीहरूले भूमि सम्बन्धी विधेयकमा जसपाले समर्थन नगरेको निहुँमा अध्यक्ष यादवलाई षड्यन्त्रपूर्वक फसाउन खोजिएको आरोप लगाउँदै मधेशलाई मरुभूमि बनाउने विधेयक स्वीकार्य नहुने चेतावनी सो अवसरमा दिएका छन । उनीहरुले राजनीतिक प्रतिशोध लिइने हो भने सशक्त आन्दोलनको घोषणा समेत गर्ने जनाएको छ । कोणसभामा जसपा सप्तरीका अध्यक्ष केदारप्रसाद यादवको अध्यक्षतामा सम्पन्न कोण सभामा केन्द्रीय, प्रदेश र भातृ संगठनका नेताहरूले सम्बोधन गरेका थिए ।
सर्वोच्च अदालतको न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार गौर घटनामा अध्यक्ष यादवविरुद्ध अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई आदेश दिएको थियो । आदेश सार्वजनिक भएपछि जसपा कार्यकर्ता देशभर प्रदर्शनमा उत्रिएका छन् ।
यता जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेशमा अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएको छ। जसपा नेपाल मधेश प्रदेश समितिले काठमाडौंमा पक्राउ परेका आफ्ना नेताकार्यकर्तालाई विनासर्त तत्काल रिहा नगरे मधेश बन्द गर्ने चेतावनी दिएको हो।
मंगलबार साँझ काठमाडौंको माइतीघर मण्डला र बबरमहलमा मसाल जुलुस प्रर्दशन गरिरहेको क्षेत्रबाट जसपाका प्रवक्ता मनिषकुमार सुमनसहितका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्रदेश सांसद किरण साह, अम्बिका काफ्ले, पूर्व प्रदेश सभा सदस्य विकी यादव, केन्द्रीय सदस्य हंसाकुमारी साह, शशीकपुर मियाँ, बबि सिंह, भोगेन्द्र यादव, दिनेशकुमार यादव, विद्यार्थी संगठन अध्यक्ष मनिष यादव, महासचिव बलिराम कापरी, युवा महासचिव दिलिप पटेल, युवा नेता मनिष यादव ओम, विद्यार्थी नेता ललन यादव र रेणुराज सिंह लगायतका रहेका जसपा नेपाल मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवले बताए।
‘शान्तिपूर्ण विरोध सभाबाट पक्राउ गर्नु गैरलोकतान्त्रिक कार्य हो’ जसपा मधेश प्रदेश अध्यक्ष यादवले भने, ‘आन्दोलनकारीहरूलाई तत्काल रिहा गर्न माग गर्दछौँ, नत्र बन्दबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी नेपाल सरकारकै हुने छ।
प्रकाशित मिति: २०२५-०८-२० , समय : ०७:२९:१० , 6 hours अगाडि