सार्वजनिक सम्पत्ति हडप्ने खेल : सप्तरीमा सरकारी जमिन निजी नाममा पास भएको खुलासा
मिति: २०२५-०८-२४ , समय : १५:५८:३८ , रबि शर्मा
मिति: २०२५-०८-२४ , समय : १५:५८:३८ , रबि शर्मा
रबि शर्मा
हनुमाननगर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१० मा एक अचम्मको घटना सार्वजनिक भएको छ, जहाँ सरकारी जमिनलाई राजनीतिक आडमा विभिन्न जालझेलमार्फत व्यक्तिको नाममा पास गरिएको तथ्य बाहिर आएको छ।
जनमत पार्टीकी नगर उप प्रमुख पदकी उम्मेदवार रहिसकेकी रेखा मण्डलका अनुसार, उनले प्रदेशस्तरीय बजेटमार्फत सबै समुदायलाई फाइदा पुग्ने गरी भवन निर्माण गर्न पहल गर्दा थाहा पाए कि सो जमिन सरकारी नभई व्यक्तिको नाममा पास गरिएको रहेछ। प्रमाण संकलनको क्रममा उनले पुख्र्यौलीदेखि सो जग्गा सरकारी स्वामित्वमा रहेको जानकारी पाएकी थिइन्। तर पछिल्ला वर्षमा राजनीतिक दबाब र जालझमेलाका आधारमा उक्त जग्गा कसरी व्यक्तिगत नाममा हस्तान्तरण गरियो भन्ने प्रश्नमा उनी अचम्मित भएको बताउँछिन्।
२०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार बनेका राहुल मण्डल पराजित भए पनि सोही चुनावमा सोही पार्टीका श्रवण कुमार मण्डल वडा नम्बर–१० का वडाध्यक्षमा विजयी भएका थिए। वडाध्यक्षमा निर्वाचित भएपछि नै सरकारी जग्गा व्यक्तिको नाममा हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको आरोप लागेको छ।
उक्त जग्गा साविक वडा नम्बर–३, गाउँ वल्क नम्बर १५६ को कित्ता नम्बर १३५ मा पर्ने जग्गा हो, जसलाई भोगचलनको आधारमा नापजाँच गरिएको देखाइएको छ। रेखा मण्डलका अनुसार, वडाध्यक्ष श्रवण कुमार मण्डलले २०७६ असार ३ गतेको मितिमा सिफारिस गरी सो जमिन राहुल मण्डलका भिनाजु, तिलाठी कोइलाडी गाउँपालिका–२, लौनियाका गाेपाल कुमार मण्डलको नाममा पास गरिएको छ।
उक्त घटनाले स्थानीयवासीमा गम्भीर प्रश्न उठाएको छ—सार्वजनिक सम्पत्तिलाई कसरी राजनीतिक आडमा जालझमेल गरी निजीकरण गर्न सकिन्छ भन्नेबारे। अहिले यो विषयमा अनुसन्धान र सार्वजनिक छलफल आवश्यक भएको स्थानीयहरुले बताएका छन्।
प्रकाशित मिति: २०२५-०८-२४ , समय : १५:५८:३८ , 7 hours अगाडि