सप्तरीको हनुमाननगरमा रमाइलो हरितालिका तीज विशेष कार्यक्रम

महिला सशक्तिकरण र सांस्कृतिक एकताको उत्कृष्ट उदाहरण

मिति: २०२५-०८-२६ , समय : ०९:०७:३९ , रबि शर्मा

तस्बिर : रबि शर्मा / गामघर टिभि

रबि शर्मा

हनुमाननगर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर–७ स्थित दुखनी देवी धर्मशालामा जनचेतना अभियान नेपाल र एकल महिला आत्मनिर्भरता तथा पुनःस्थापना केन्द्रको संयुक्त आयोजनामा “रमाइलो हरितालिका तीज विशेष कार्यक्रम–२०८२” भव्य रूपमा सम्पन्न भएको छ।
साे कार्यक्रममा नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख अस्मिता देब, कृषि शाखा प्रमुख सुशिला दाहाल, वडा नं. ७ की सचिव श्रीजना मण्डल तथा एकल महिला आत्मनिर्भरता तथा पुनःस्थापना केन्द्र सप्तरीकी अध्यक्ष जुही ठाकुरको विशेष उपस्थिति रहेको थियो।
महिला शाखा प्रमुख अस्मिता देबले यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिँदै अझ भव्य बनाउन प्रतिवद्धता जनाइन्। त्यस्तै, अध्यक्ष जुही ठाकुरले महिलाबीच एकता, आत्मबल र सामाजिक सद्भाव अभिवृद्धिमा यस किसिमका कार्यक्रमले ठूलो योगदान पुर्याउने बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता जनाइन्।
उक्त कार्यक्रममा मुस्लिम समुदायसहित विभिन्न समुदायका महिलाहरू रातो पोशाकमा सजिएर तीजका गीत–संगीतमा नाचगान गर्दै उल्लासपूर्वक रमाएका थिए। करिब ५/६ वर्षयता नगर तहमा यति ठूलो सांस्कृतिक कार्यक्रम नभएको सहभागीहरूले बताएका छन्।

प्रकाशित मिति: २०२५-०८-२६ , समय : ०९:०७:३९ , 5 hours अगाडि