तस्करीमा सुरक्षा संयन्त्रकै संलग्नता : सप्तरीको हनुमाननगरबाट ५० कार्टुन अबैध मदिरा बरामद

प्रहरीले बरामद गरिएको अटो र अबैध मदिरा किन छोड्यो...?

मिति: २०२५-०९-०३ , समय : १०:०५:५८ , नवीन यादव

फायल तस्बिर

नवीन यादव

राजविराज ।
सप्तरीको हनुमाननगरमा सोमबार भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा बरामद भएको छ। तर, बरामद मदिरा र सवारी साधन सार्वजनिक नगरिएको, न त कसैलाई पक्राउ गरिएको छ — जसले प्रहरी र तस्करबीचको मिलेमतो भएको आशंका थप बलियो बनाएको छ।
इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको टोलीले कोशी बाँध नजिकै चेकपोइन्टमा स.१ह. १४४८ नम्बरको अटो रिक्सा रोकेर चेकजाँच गर्दा अटोमा लुकाएर राखिएको ५० कार्टुन ‘दिलवाले सोफी’ ब्राण्डको मदिरा फेला पारेको हो। प्रहरी देखेपछि अटो चालक सवारीसहित फरार भएको जनाइएको छ। अहिले अटो र मदिरा इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखिएको बताइएको छ।
तर, यसबारे प्रहरी प्रशासनले न त औपचारिक प्रेस विज्ञप्ति सार्वजनिक गरेको छ, न त बरामद सामग्री मिडियामा देखाइएको छ। अनुसन्धान र कानुनी कारबाही सुरु नहुनु र घटना गुपचुप राखिनु आफैंमा संकास्पद देखिएको छ।
मदिरा तस्करीको सुरक्षा सेटिङ?
स्थानीय स्रोतहरूले सीमावर्ती क्षेत्रका प्रहरी चौकी र तस्कर समूहबीच नियमित लेनदेन हुने गरेको आरोप लगाउँदै आएका छन्। एक स्थानीय व्यापारीका अनुसार, “मासिक १५ हजारदेखि ३० हजार रुपैयाँसम्म तिर्ने ‘डिल’मा खुलेआम तस्करी चल्ने गरेको छ।” यसपटक पनि नियन्त्रणमा लिइएको मदिरा र अटो सार्वजनिक रूपमा प्रस्तुत नगरी छोडिएको भन्ने आरोप व्यापक रूपमा फैलिएको छ।
केही समयअघि सप्तरीकै राजगढ गाउँपालिका–२ मा भएको लालु यादवको हत्या पनि यस्तै तस्करी सञ्जालसँग जोडिएको आशंका गरिएको थियो। स्थानीयको भनाइमा, “उनको हत्या पनि केही कार्टुन मदिरा लुटपाट र आपसी झगडाबाट भएको थियो।” अहिले ५० कार्टुन मदिरा बरामद हुँदा कुनै पक्राउ नगरिनु, अनुसन्धान अघि नबढ्नु र समाचार सार्वजनिक नहुनुले प्रहरीको भूमिकालाई प्रश्नचिन्हमा राखेको छ।
“महिनावारीको सेटिङ” — प्रहरीमाथि गम्भीर आरोप
घटनाबारे प्रतिक्रिया दिँदै सप्तरी जिल्ला प्रहरी कार्यालयका एक उच्च अधिकृतले “बरामद मदिरा कानुनी मापदण्ड अनुसारको भएको र अनुसन्धानपछि अटो छोडिएको” दाबी गरे। तर, लालु यादवको घटनामा फेला परेको मदिरा र अहिले बरामद गरिएको मदिराबीच कुनै फरक समानता देखिएकाे छैन ।
एक स्थानीय नागरिकको टिप्पणी अनुसार, “कतै गोलीको निशानी त कतै फूलको बास्ना — प्रहरीले त अब तस्करीलाई आफ्नो अनुकूल नियमित लेनदेनको माध्यम बनाएको जस्तो देखिन्छ।”

प्रकाशित मिति: २०२५-०९-०३ , समय : १०:०५:५८ , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित