जेनजी प्रदर्शनमा दमन भएको भन्दै सरकारको चौतर्फी विरोध : काठमाण्डौको चक्रपथभित्र कर्फ्यु

मिति: २०२५-०९-०९ , समय : ०८:४८:४५ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाण्डौ । जेनजी भनिने नवयुवापुस्ताले हिजो गरेको प्रदर्शनमा राज्यले बर्बर दमन गरेको भन्दै चौतर्फी विरोध भएको छ । राजनीतिक दल तथा नागरिक समाजले घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । हिजोको घटनापछि सरकारले नैतिक र वैधानिक अधिकार गुमाइसकेको विपक्षी दलहरुले जनाएका छन् ।

हिजोको प्रदर्शनमा काठमाण्डौमा १७ र सुनसरीमा दुई गरी १९ जनाको ज्यान गएको छ । चार सयभन्दा धेरै घाइतेको उपचार भैरहेको छ । झडपमा ७१ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते भएकाको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आठ, सिभिल अस्पतालमा तीन, एभरेस्ट अस्पतालमा तीन, केएमसी अस्पतालमा दुई र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जनाको ज्यान गएको छ ।

त्यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुई जनाको ज्यान गएको छ । राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि पुगेकामध्ये आठ जनाको ज्यान गएकोमा अहिलेलसम्म पाँच जनाको पहिचान खुलेको छ । सेन्टरका अनुसार अन्दाजी १९ वर्षीय ग्लोबल कलेजका विद्यार्थी श्रीयाम चौलागाईं, बाँकेका सुलभराज श्रेष्ठ, काठमाण्डौ कीर्तिपुरका बुद्धि तामाङ, काठमाण्डौ वनस्थलीका स्टप अधिकारी र गौरव जोशीको पहिचान खुलेको हो ।

यस्तै इटहरीमा ज्यान गुमाएका दुईमध्ये एक जनाको पहिचान खुलेको छ । इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठको प्रदर्शनका क्रममा ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । अर्का एक युवकको पहिचान खुल्न बाँकी छ । प्रहरीका अनुसार सिभिल, वीर, ट्रमा, एभरेस्ट, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसहितका अस्पतालमा चार सयभन्दा धेरै घाइतेको उपचार भइरहेको छ । सरकारले जेनजीको प्रदर्शनमा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने जनाएको छ । यता काठमाण्डौको चक्रपथ क्षेत्रभित्र अहिले बिहान साढे आठ बजेदेखि भोलि बिहान साढे पाँच बजेसम्मका लागि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सूचना निकालेर काठमाण्डौ महानगरपालिकाभित्र पर्ने चक्रपथ क्षेत्रमा भोलि बिहान साढे पाँच बजेसम्म कर्फ्यु लगाएको जनाएको छ ।

सूचनामा चार किल्ला तोकेर ती क्षेत्रभित्र कुनै पनि प्रकारको सभा, जुलुस, प्रदर्शन, भेला, बैठक तथा आवत–जावत गर्न नपाइने उल्लेख गरिएको छ । कर्फ्यु लगाएका क्षेत्रहरुमा चक्रपथ भित्रका कोटेश्वर, सिनामङ्गल, गोङ्गबु, चाबहिल, नारायणगोपाल चोक, गौशाला, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु हुँदै बागमती नदीसम्मको क्षेत्र छन् ।

निषेधाज्ञा अवधिभर पनि अत्यावश्यक सेवाका गाडीहरु चल्न पाउनेछन् । एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, पर्यटकका गाडी, मानव अधिकार तथा कूटनीतिक नियोगका गाडी, हवाई टिकट देखाएर जाने यात्रुहरू लाई गन्तव्यमा जाने दिने सूचनामा भनिएको छ । साथै नागरिकहरूलाई कर्फ्युको पालना गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति: २०२५-०९-०९ , समय : ०८:४८:४५ , 9 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित