जेनजी आन्दोलनको दमनको विरोधमा सप्तरीको भारदह तनावग्रस्त : विद्यार्थीहरुद्वारा टायर बालेर प्रदर्शन
मिति: २०२५-०९-०९ , समय : ११:०७:१४ , गामघर डेस्क
मिति: २०२५-०९-०९ , समय : ११:०७:१४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
काठमाडौँमा जारी जेनजी आन्दोलनमाथि भएको दमनको विरोधमा सप्तरीको भारदह क्षेत्र तनावग्रस्त बनेको छ। सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका वडा न.१ स्थित इलाका प्रहरी कार्यालय भारदहको मुख्य गेट अगाडि मंगलबार बिहानैदेखि विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्।
बिपी माध्यमिक विद्यालय, भारदहका विद्यार्थीहरू समूह बनाएर सडकमा उत्रिएपछि भारदह बजार क्षेत्रमा व्यापक सुरक्षा सतर्कता अपनाइएको छ। प्रदर्शनकारीहरूले टायर बालेर मुख्य सडक अवरुद्ध गरेपछि भारदहको मेन रोडमा सवारी साधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ।
प्रदर्शनकारीहरू काठमाडौँमा “जेनजी” आन्दोलनका क्रममा प्रहरीले गरेको गोली प्रहार र त्यसबाट भएको जनधन क्षतिको विरोधमा उत्रिएका हुन्। उनीहरूले “निहत्था विद्यार्थीमाथि गोलीप्रहार बन्द गर”, “सामाजिक सञ्जाल खोल”, “भ्रष्टाचार अन्त्य गर” जस्ता नारा लगाउँदै प्रदर्शन जारी राखेका छन्।
काठमाडौँमा जेनजी आन्दोलनका क्रममा हालसम्म १९ जनाको मृत्यु भएको र दर्जनौं व्यक्ति घाइते भएको घटनाले मुलुकभर आक्रोश फैलिएको छ। उनीहरूले शान्तिपूर्ण आन्दोलनमाथिको राज्य दमनको कडा शब्दमा विरोध गर्दै दोषी प्रहरी र प्रशासनिक अधिकारीहरूलाई कारबाही गर्न माग गरेका छन्।
यसैबीच इलाका प्रहरी कार्यालय भारदहले स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरेको छ भने बजार क्षेत्रमा कुनै अप्रिय घटना नहोस् भन्नका लागि अतिरिक्त फोर्स तैनाथ गरिएको छ।
स्थानीय प्रशासनले स्थिति सहज बनाउने प्रयास गरिरहेको जनाए पनि प्रदर्शनकारीहरू आक्रोशित बनेका छन्। उनीहरूले शान्तिपूर्ण तर उग्र शैलीमा विरोध जारी राख्ने चेतावनी दिएका छन्।
यता सप्तरीमा जेनजी आन्दोलनको समर्थनमा थप आन्दोलनहरू चर्कने संकेत देखिन थालेको छ।
प्रकाशित मिति: २०२५-०९-०९ , समय : ११:०७:१४ , 13 hours अगाडि