सप्तरीको राजविराज बसपार्क अभिलम्व सञ्चालन गर्न जेनजी पुस्ताकाे माग
मिति: २०२५-१०-०९ , समय : २२:०३:०२ , गामघर डेस्क
मिति: २०२५-१०-०९ , समय : २२:०३:०२ , गामघर डेस्क
तस्बिर : गामघर टिभि / राजविराज
गामघर डेस्क
राजविराज ।
राजविराज बसपार्क सञ्चालनमा ल्याउन जेनजी पुस्ताले जोडदार माग गरेको छ । सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा न. २ स्थित रहेको बसपार्कमा विहीबार निरिक्षण गर्न पुगेका जेनजी पुस्ताका प्रतिनिधि तथा युूवाहरुले यस्तो माग गरेको हो ।
राजविराज बसपार्क उद्घाटन भएको चार महिना बितिसक्दा पनि हालसम्म बस सञ्चालन सुरु हुन नसकेको भन्दै उनीहरुले आपत्ति जनाएको छ । वर्षौंको प्रतीक्षापछि निर्माण सम्पन्न भई विधिवत् रूपमा उद्घाटन गरिए पनि बसपार्क अझै सुनसान भएको प्रति चासो राख्दै उनीहरूले सम्बन्धित सरोकारवालासँग बसपार्क तत्काल सञ्चालन गर्न माग गरेका हुन् ।
जेनजी युवा तथा सप्तरी युथको टोलीले बसपार्कको निरीक्षण गर्दै तीन दिनभित्र सञ्चालन सुरू गर्न माग गरेका छन् । तोकिएको समयसीमाभित्र बसपार्क सञ्चालन नभए थप दबाबमूलक कार्यक्रम घोषणा गर्ने उनिहरुले चेतावनी दिएका छन्। 
बसपार्क सञ्चालनमा नआउँदा बजार क्षेत्रमा अत्यधिक सवारी चापका कारण अस्तव्यस्तता सिर्जना भई दैनिकजसो साना–ठूला दुर्घटनाहरू हुने गरेको स्थानीय मोहन साह बताउँछन्। हाल राजविराजको मुख्य सडकमा सवारी साधनहरू पार्किङ गरी सञ्चालन भइरहेको बताउँदै स्थानीयले जथाभावी पार्किंगले सर्वसाधारणलाई आवागमनमा समेत कठिनाइ भइरहेको गुनासो गरेका छन ।
गत जेठ १५ गते, एक विशेष समारोहका बीच राजविराज नगरपालिकाकी प्रमुख ईसरत परविनले वडा नं. २ मा निर्माण सम्पन्न बसपार्कको उद्घाटन गरेकी थिइन् । गजेन्द्र नारायण सिंह अस्पताल, नेता चौक, गजेन्द्र चौक हुँदै रूपनी मोडसम्मको सडक खण्डमा दैनिकजसो सवारी जाम तथा दुर्घटनाहरू भइरहेका छन् ।मुख्य सडकमा ढेला, अतिक्रमण गरी सञ्चालनमा रहेका पसलहरू, छाडा चौपाया, मोटरसाइकल, साइकल, सिटी रिक्सा, बसलगायतका सवारी एउटै स्थानमा भीडभाड गर्दा दुर्घटनाको जोखिम अझै बढेको स्थानीय रमेश साह बताउँछन । 
राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख ईसरत परविनले छिटै बसपार्कबाट नियमित बस सञ्चालन सुरु हुने बताएकी छन्।
प्रकाशित मिति: २०२५-१०-०९ , समय : २२:०३:०२ , 2 months अगाडि