सप्तरीको रुपनीमा विद्युत् सर्ट भई आगलागी हुदा ५० लाख बढीको क्षति , एकजना घाइते

मिति: २०२५-१०-१० , समय : ०८:४५:३० , गामघर डेस्क

तस्बिर : नवीन यादव / गामघर टिभि

गामघर डेस्क

राजविराज ।
सप्तरीको रुपनी गाउँपालिका वडा न.१ रुपनीमा शुक्रबार राति विद्युत् सर्ट भएर भएको आगलागीमा एकजना व्यक्ति घाइते भएका छन् भने झण्डै ५० लाख भन्दा बढीको क्षति भएको छ।
गएराति करिब १०:०० बजे स्थानीय ललित यादवको घरमा जडान गरिएको बिजुलीको मिटरमा सर्ट भएर आगलागी भएको थियो। सो आगोले ललित यादवसहित उनका छोराहरु सुनिल यादव, श्याम सुन्दर यादव र छोरी पार्वती देवी यादवको घर र सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
आगलागी नियन्त्रणको क्रममा २८ वर्षीय श्याम सुन्दर यादवको ढाड र हातमा करिब २५ प्रतिशत आगोले पोलिएर घाइते भएको प्रहरीले जनाएको छ। उनी हाल मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचाररत छन् र उनको अवस्था सामान्य रहेको बताइएको छ।
आगो नियन्त्रणका लागि स्थानीयवासीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, कंचनरुप नगरपालिकाको दमकल, साथै नेपाली सेनाको भलुवाही ब्यारेक राजविराजबाट प्रमुख सेनानी शोभित चन्द्रको नेतृत्वमा १७ जनाको टोली दमकलसहित घटनास्थल पुगेको थियो। सबैको संयुक्त प्रयासमा आगो राति १२:१५ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको हो।
प्रहरीका अनुसार, आगलागीबाट ललित यादवको दुईवटा घर, सुन–चाँदीका गहना, नगद, अन्नपात, कपडा, भाँडा–बर्तन तथा चौपाय जलेर करिब रु. ७ लाख ५५ हजार क्षति भएको छ।
उनका छोरा सुनिल यादवको घर र सम्पत्ति जलेर करिब रु. १६ लाख ४५ हजार, श्यामसुन्दर यादवको घरमा करिब रु. १५ लाख ६५ हजार, र छोरी पार्वती देवी यादवको गरी रु. १० लाख ६५ हजार बराबरको क्षति भएको बताइएको छ।
आगलागीमा ३ वटा भैंसी र १ वटा गाई घाइते, साथै २ वटा खसी र १ वटा बाख्रा जलेर मृत्यु भएको समेत प्रहरीले जनाएको छ।
यता प्रहरीकाे प्रारम्भिक अनुसन्धान अनुसार आगलागीको कारण विद्युत् तार सर्ट भएर आगलागि भएको पुष्टि गरेको छ।

प्रकाशित मिति: २०२५-१०-१० , समय : ०८:४५:३० , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित