सप्तरीको अग्नीसाइर कृष्णसवरनमा तालाबन्दीको कारण सेवा प्रभावित , सेवाग्राहीहरु समस्यामा

मिति: २०२५-१०-१४ , समय : २२:५२:३३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
तलवभत्ता माग गर्दै सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीद्वारा गाउँपालिका र वडा कार्यालयहरुमा तालाबन्दीको कारण सम्पुर्ण सेवा प्रभावित भएका छन् । गाउँपालिकाको मुल गेटमा मंगलबार अध्यक्ष,उपाध्यक्ष र सम्पुर्ण शाखाहरुको साथै ६ वटै वडा कार्यालयमा समेत तालाबन्दी गरेका हुन् ।
गाउँपालिकामा तालाबन्दी गरेपछि शिक्षक कर्मचारीहरु विभिन्न वडा कार्यालय गएर ताला लगाएर धर्ना बसेका छन् ।
धर्ना बसेका मावि जण्डोलका प्रधानाध्यापक कामेश्वर मण्डलले तलव भत्ता माग गर्दै पटकपटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ नभएपछि तालाबन्दीसहितको आन्दोलनमा उत्रिन बाध्य भएको बताए । यता तलव पाउने सुनिश्चितता नभएसम्म तालाबन्दीसहितका संघर्षका कार्यक्रम जारी रहने बताउँदै उनले तिहार अगाडी माग सम्बोधन नभए छठ पछि अतिआवशयक सेवा बाहेकका विद्यालय, स्वास्थ्य संस्था लगायत सम्पुर्ण कार्यालय बन्द गरि सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए ।
शिक्षक कर्मचारीहरुले तालाबन्दी गरि कार्यालय अगाडि धर्ना दिएपछि गाउँपालिका तथा वडा कार्यालयहरुबाट दिइने सेवासुविधा ठप्प भएको छ । गाउँपालिका तथा वडा कार्यालयहरुको कामकाज प्रभावित हुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
ज्ञापनपत्रमा सोमबार सम्म तलव भत्ता उपलब्ध गराउन माग गर्दै २४ घण्टे अल्टिमेटम दिइएको थियो । तोकिएको समयमा माग सम्बोधन नगरिए अध्यक्ष, उपाध्यक्ष, वडा कार्यालय र सम्पुर्ण शाखाहरुमा मंगलबार तालाबन्दी गरी धर्ना दिने चेतावनी उनीहरुले दिएका थिए ।
तिहार विदाको अघिल्लो दिन सम्म पनि माग सम्बोधन नभए छठ पछि गाउँपालिका मातहतका सम्पूर्ण विद्यालय स्वास्थ्य संस्थाहरु अनिश्चितकालीन बन्द गर्ने उनीहरुले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, उपाध्यक्ष कल्पना कुमारी चौधरी र ६ वटै वडा अध्यक्षलाई बोधार्थ दिइएको ज्ञापनपत्रमा आन्दोलनको कार्यक्रमबाट सिर्जित हुने सम्पुर्ण क्षतिको जिम्मेवारी गाउँपालिका परिवारले लिनुपर्ने जनाइएको छ ।
यसैगरी गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीसहित जनप्रतिनिधिहरुको राजिनामा माग गर्दै आन्दोलनरत बेथिति विसंगति विरुद्ध संघर्ष समितिले शिक्षक कर्मचारीहरुको आन्दोलनमा एक्यवद्धता जनाउँदै माग सम्बोधनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । यस अघि शिक्षक र स्वास्थ्यकर्मीहरुले आइतबार ज्ञापनपत्र बुझाउँदै तालाबन्दीसहितको आन्दोलनको कार्यक्रम सावर्जनिक गरेका थिए ।

प्रकाशित मिति: २०२५-१०-१४ , समय : २२:५२:३३ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित