तिहारको मुख्य दिन आज भाइटीका : मिथिलान्चलमा ‘भरदुतिया’ पर्व मनाउँदै

टिकाकाे उत्तम साइत विहान ११ बजेर ३९ मिनेटमा

मिति: २०२५-१०-२३ , समय : ०७:३९:२५ , शुभ नारायण यादव

तस्बिर : गामघर टिभि

शुभ नारायण यादव

काठमाण्डौ । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टीका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेका लागि विहान ११ बजेर ३९ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिनुभयो । सोमवार लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचार प्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा उल्लेख गरिएको भट्टराईले जानकारी दिनुभयो । टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवम् सामाजिक परम्परा छ ।

भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् । भक्तपुरका केही नेवार समुदायले हिजो नै किजापूजा गरेका छन् ।

यता तराई–मधेशका धेरैजसो क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् तिहारको कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो पर्व मनाउने मैथिल परम्परा छ । सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने छ दिनको भएको छ ।

मिथिलामा भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् । यद्यपि, दिदीबहिनी माइतीमा आएर पनि पर्व मनाउने प्रचलन छ । अविवाहित दिदीबहिनी र दाजुभाइले आफ्नै घरमा पर्व मनाउँछन् । दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाइ दिने गर्छन् ।

दाजुभाइले नयाँ वस्त्र, आभूषण कोसेली दिन्छन् । यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दूको पर्व मनाउने पौराणिक कथावस्तुभने एउटै रहेको मिथिला लोकपरम्पराका जानकार संस्कृतिविद् महोत्तरी जलेश्वर–५ का ध्रुव राय बताउनुहुन्छ । यस्तै पश्चिम नेपालका मधेसी समुदायमा तिहारको मुख्य दिन आज यमद्वितीया अर्थात् ‘भैयादुज’ मा भुर्की पूजन गरी आ–आफ्ना दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाई खुवाएर मनाउँदै छन् ।

आज भाइटिकाको मुख्य साइतमा नै भुर्की पूजनको कार्य गरिने अवधी साहित्यकार विष्णुलाल कुमालले बताउनुभयो । घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, वन जगङ्लको चित्र बनाएर कुशलगायत विभिन्न काँडा राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने प्रचलन छ । आज पूजा गरिएको चिउरा भुर्की टाढा रहेका आफ्ना दाजुभाइलाई कात्तिक पूर्णिमासम्म खुवाउने प्रचलन छ ।

प्रकाशित मिति: २०२५-१०-२३ , समय : ०७:३९:२५ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित