छठ पर्वको आज मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै
छठमा चढाइने कृषिजन्य तरकारी तेब्बरमा बिक्री
मिति: २०२५-१०-२७ , समय : ०८:४०:२२ , गामघर डेस्क
मिति: २०२५-१०-२७ , समय : ०८:४०:२२ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
राजविराज । कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व अस्ति शनिवारदेखि शुरू भएको हो । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाने गरिन्छ । दोस्रो दिन सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

कात्तिक शुक्ल षष्ठीका दिन आज निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने गरिन्छ । आज रातभर जागा बसी भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
२०४६ सालअघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ । २०४६ सालदेखि सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको छ । बीचमा केही वर्ष बिदा काटिएकामा अहिले फेरि दिन थालिएको छ ।

यता छठ पर्वमा ढाइने तरकारीजन्य पदार्थहरूको मूल्य तेब्बरले वृद्धि भएको छ। अन्य दिनको तुलनामा छठमा चढाइने लौका, फूलकोबी, भण्टा, मूला,फर्सी लगायतको तरकारीजन्यको तेब्बर दरमा बिक्री भइरहेको उपभोक्ता फन्नालाल यादव बताउनुहुन्छ ।
स्थानिय तरकारी व्यापारीहरूका अनुसार पछिल्लो समयमा भारी वर्षाले तरकारी बाली नष्ट भएपछि बजारमा मूल्यमा वृद्धि भएको हुन ।
राजविराजका किसान रमेश महतोका अनुसार यो वर्ष वर्षाको कारण लौका, भण्टा, फूलकोबी जस्ता मौसमी तरकारीबाली केही मात्रमा जोगाउन सकेको कारण मूल्य बढ्ेको बताउनुहुन्छ ।
यता व्यापारी रमेश साहले स्थानीय उत्पादन नपुग्दा हामी बाहिरी जिल्ला सुनसरीको इनरुवा, धनुषाको ढल्केबर, सर्लाहीको लालबन्दी, उदयपुरको गाईघाट र मकवानपुरको हेटौंडाबाट ढुवानी गर्दा भाडा, मजदुरी र पेट्रोल खर्च बढीको कारण महँगोमा बेच्न बाध्य भएको बताउँछन । 
हाल बजारमा लौका प्रति थान २५० देखि ३५० रुपियाँ, भण्टा प्रति किलो १५० रुपियाँ, फूलकोबी प्रति किलो १८० रुपियाँ, मूला प्रति किलो ११० रुपियाँ र फर्सी प्रति किलो ८० रुपियाँमा बिक्री भइरहेको छ। यो मूल्य अन्य दिनको तुलनामा तेब्बर मात्र होइन, कतिपय वस्तुमा चार गुणासम्म वृद्धि भएको उपभोक्ताहरू बताउँछन्।
राजविराजकी गृहिणी सुनीतादेवी यादवका अनुसार छठमा प्रसादको रुपमा चढाउनका लागि लौका र फूलकोबी चढाउने गरेको कारण बजारमा चर्को मूल्यमा उपभोक्ता खरीद गर्न बाध्य छन ।
यता, चाडबाड लक्षित बजार अनुगमन टोली सक्रिय नहुदा उपभोक्ता चर्को मुल्यमा खरिद गर्न बाध्य छन । पर्वमा अत्यधिक नाफा लिन खोज्ने व्यापारीहरु को लागि राम्रो अवसर पाए जस्तो भएको देखिन्छ।
प्रकाशित मिति: २०२५-१०-२७ , समय : ०८:४०:२२ , 1 month अगाडि