जीविकोपार्जनका लागि चिया पसल चलाइरहेका मधेस प्रदेशका बब्लु गुप्ता मन्त्री बने
मिति: २०२५-१०-२९ , समय : ०८:४१:४६ , गामघर डेस्क
मिति: २०२५-१०-२९ , समय : ०८:४१:४६ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
काठमाडौं ।
खेलकुद मन्त्री बनेका गुप्ता जेनजी उमेर समूहकै हुन् । उनी नेपालका सबैभन्दा कान्छा मन्त्री हुन् । सिराहा स्थायी घर भएका उनी आइतबार २८ वर्षकै उमेरमा संघीय युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
शालिन स्वभावका गुप्ता विनम्र र दयालु रहेको उनीनिकट व्यक्तिहरू बताउँछन् । नागरिकता अनुसार उनको जन्म मिति २०५४ फागुन २५ गते रहेको छ ।
२८ वर्षको उमेरमै मन्त्री बनेका गुप्ता जेनजी आन्दोलनको अग्रपंक्तिमा थिए । माइतीघर मण्डलादेखि बानेश्वरसम्म भ्रष्टाचारविरोधी नारासहित आन्दोलनमा उत्रिएका उनी २३ गते दिउँसो प्रहरीले संसद् भवनभित्रबाट गोली चलाइरहँदासमेत बानेश्वर चोकमा नारा लगाउँदै थिए ।
परोपकारी समूह १०० ग्रुपसँग आबद्ध उनले घाइतेलाई अस्पतालसम्म लैजाने काममा समेत सहजीकरण गरेका उनी अन्ततः मन्त्री बन्न सफल भए । जेनजी आन्दोलनको बलमा बनेको सरकारमा खास जेनजी उमेर समूहका व्यक्ति चाहिँ मन्त्री नबनेको भन्दै आलोचना भइरहेका बेला गुप्ताको प्रवेशले अब त्यो आलोचनालाई मत्थर गर्नेछ ।

सिरहाको लहान स्थायी घर भएका बब्लु गुप्तालाई उनका व्यवसायी बुबाले राम्रो शिक्षाका लागि झन्डै दुई दशकअघि काठमाडौं पठाएका थिए। लोन्थलीस्थित सगरमाथा स्कूलमा कक्षा ३ मा भर्ना भएका उनले त्यहीँबाट प्रवेशिका परीक्षा दिए।
आकर्षक रोजगारीको प्रलोभनमा ठगिएर खाडी मुलुक पुग्ने गाउँका युवाहरूको समस्यामा काठमाडौंमा रहेका बब्लुसँग ठोकिन थाल्यो । यसरी काठमाडौं आएपनि उनी गाउँका मानिसहरूलाई पर्ने समस्या समाधानमा जोडिन थाले ।
उनी म्यानपावर कम्पनीसँग निर्धक्क भएर कुरा राख्थे र ठगीमा परेकालाई सहयोग गर्ने कार्यले उनको सामाजिक भावनालाई सानैदेखि बीजारोपण गरेको थियो । गाउँबाट काठमाडौं आएका बिरामीहरूलाई रगत खोज्न र अन्य सामान्य अप्ठ्याराहरू फुकाउन उनले सहयोग गर्न थाले । यसरी उनलाई किशोरवयदेखि नै सामाजिक काममा जोडिनुपर्यो ।
कलेज पढिरहँदा करिब ९ वर्षअघि ललितपुरको ग्वार्को नजिक सडक दुर्घटनामा रगताम्ये अवस्थामा लडिरहेका एक घाइतेको उपचार गरेपछि सामाजिक सेवामा लागेका गुप्ता अहिले पनि सामाजिक सेवामै व्यस्त छन् ।
गाउँबाट आएका मानिसहरूलाई वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका र काठमाडौंमा बिरामी हुँदा रगतको अभाव भएकाहरूलाई सहयोग गर्न सहज होस् भन्ने उद्देश्यले बब्लुले ‘१०० ग्रुप’ नामक सामाजिक समूहको स्थापना गरे। यो समूहलाई सुरुमा रगत खोज्ने ‘सारथि’ का रूपमा धेरैले विश्वास गर्न थाले।
त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा रगत खोज्न कठिनाइ भइरहेका बिरामीका लागि यो समूहले महत्वपूर्ण सहयोग गर्यो ।
त्यसो त, गुप्ता र उनको संस्था उनको ‘हन्ड्रेड ग्रुप’ विश्वव्यापी कोभिड–१९ महामारीका बेला राजधानीमा मजदूरी गरिरहेका र भोकै परेका विपन्न वर्गका लागि निःशुल्क खाना अभियान चलाए । सुरुमा शंखमूलमा रहेको चार आना खाली जग्गाबाट सुरु भएको यो अभियानले रत्नपार्कको खुलामञ्चमा समेत हजारौं मानिसलाई खाना खुवायो।

तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रतिवाद गर्दा विवाद भए पनि, उनीहरूले १५०० बढीलाई खाना खुवाएर मानवीयताको उदाहरण प्रस्तुत गरे।
खाना खुवाउने अभियानका साथै समूहले उपचारका लागि उपकरण अभाव भइरहेका बेला बानेश्वरको रत्नराज्य स्कूलमा चिकित्सक सहितको आइसोलेसन सेन्टर निर्माण गरेर सेवा प्रवाह गर्यो। विभिन्न व्यवसायीको सहयोगमा अक्सिजन सिलिन्डर र पछि जिल्लाहरूमा अक्सिजन कन्सन्ट्रेटर समेत हस्तान्तरण गरेर कोभिड महामारीको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्यो।
कोभिडअघि नै बब्लुले विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसहरूलाई सहयोग गर्न ‘कपडा बैंक’ अभियान चलाए। विदेशमा सडकमा पुरानो सामान राख्ने कन्टेनर देखेर प्रेरित भई ल्याइएको यो अवधारणालाई नेपालमा व्यापक चर्चा पायो।
अनामनगरबाट सुरु भएको कपडा बैंक पछि जावलाखेल, कलंकी हुँदै रुपन्देहीको सैनामैनासम्म पुग्यो। संकलित कपडा विशेषगरी ज्याला मजदूरी गरिरहेका मानिसले आएर लैजान सक्ने व्यवस्था गरिएको थियो।
यससँगै उनले ‘किताब बैंक’ को अवधारणा पनि ल्याए, जहाँ नयाँ किताब किन्न नसक्ने विद्यार्थीलाई पुरानो किताब दिएर सहयोग गर्न सकियोस् भन्ने उद्देश्य राखिएको थियो। यसमा स्कूल, कलेजदेखि लोकसेवाका किताबहरू समेत संकलन गरिए।
यद्यपि, छुट्टै संरचना नहुँदा वर्षातको समस्याका कारण किताब बैंकले निरन्तरता पाउन सकेन। यसबाहेक, उनले यादवलाल कायस्थ सहितको समूहसँग मिलेर लकडाउनको बेला हिटी संरक्षण, भक्तपुरमा फल्चाको मर्मतसम्भार र पोखरीको सरसफाइमा समेत काम गरेका छन्।
गुप्ताको समूह अहिले ‘प्रोजेक्ट शिक्षा’ नामक नयाँ अभियानमा जोडिएको छ। यस मार्फत हन्ड्रेड ग्रुपले गरिब तथा विपन्न वर्गका ११० जना विद्यार्थी छानेर काठमाडौंमा खान, बस्न सुविधा सहित पढाइरहेको छ।
गुह्येश्वरीमा सहयोगी दाताहरूको सहयोगमा बनेको १०० ग्रुपको भवनमा ती विद्यार्थीहरूले अध्ययनको अवसर पाएका छन्। बब्लु आफैंले भने जीविकोपार्जनका लागि एक होस्टल र चिया पसल चलाइरहेका छन्।
उनै गुप्ता अन्ततः समाजसेवा हुँदै राजनीतिसम्म आइपुगेका छन् । १८ वर्षको उमेरदेखि नै सेवा र न्यायका लागि खट्दै, नेतृत्व गर्दै आएका बब्लु जेनजी विद्रोह हुँदै अन्तरिम सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका हुन् ।
२०७७ असोज २ गते नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनमा सहभागी हुँदा बबरमहलबाट पक्राउ परेका बब्लुलाई प्रहरी नियन्त्रणमा गम्भीर घाइते हुनेगरी कुटपिट गरिएको घटनाले उनलाई थप चर्चामा ल्याएको थियो। यस घटनामा छानबिन समिति समेत बनेको थियो।
उमेरले तीन दशक पनि नपुगेका गुप्ताले अब युवा पुस्ताका लागि कसरी काम गर्नेछन् ? त्यो भने समयले नै बताउनेछ । दैनिक हजारौंको संख्यामा विदेश गइरहेका युवाहरुलाई स्वदेशमै रोक्न र खेलकुद त्यसमा पनि क्रिकेटनमा नेपालले मारेको छलाङलाई निरन्तरता दिन उनले कसरी काम गर्छन् त्यो भने पर्खाइको विषय छ ।
हुनत छोटो समयका लागि चुनावी सरकारको मन्त्री बनेका गुप्ताले गर्नुपर्ने धेरै काम छन् । तर, समय अभाव नखड्केला भन्न सकिन्न । तर, गरेर देखाउनु पर्ने बाध्यता उनीमाथि छ ।
प्रकाशित मिति: २०२५-१०-२९ , समय : ०८:४१:४६ , 1 month अगाडि