सप्तरीमा झाडापखालाले एकै परिवारका ३ जनाको मृत्यु : प्रभावितको घरबाट स्वास्थ्यकर्मी नमुना सङ्कलन गर्दै
मिति: २०२५-११-०२ , समय : १६:३२:२४ , शुभ नारायण यादव
मिति: २०२५-११-०२ , समय : १६:३२:२४ , शुभ नारायण यादव
तस्बिर : गामघर टिभि / छिन्नमस्ता
शुभ नारायण यादव
राजविराज ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.५ लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका तीन जनाको हप्ताभित्र मृत्यु भएको छ। स्थानीय बासिन्दाका अनुसार मृतक सबै एउटै परिवारका सदस्य हुन्, जसमा दुई जना पुरुष र एक जना बालिका रहेका छन्।
स्थानिय शिवशंकर सदाका अनुसार तीनै जनामा उच्च ज्वरो र लगातार झाडापखाला लाग्ने लक्षण देखिएको थियो। समयमै स्वास्थ्य उपचार नपाउँदा उनीहरूको ज्यान गएको बताइएको छ। गाउँमा हाल झाडापखालाका थप बिरामी पनि देखिन थालेका छन्।
स्थानीयले बताएअनुसार सो टोलमा हालसम्म १५ जनाभन्दा बढीमा झाडापखालाको लक्षण देखिएको छ। मृत्यु हुनेहरूमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन्। हालसम्म १५ जनाभन्दा बढीमा रोगका लक्षण देखा परेका छन्। जसमा बुचनकी ५ वर्षीया छोरी राधिका, शिवशंकर सदाकी छोरी १० वर्षीया करिना, कृष्णा सदाकी पत्नी २५ वर्षीया लिलमदेवी, छोरीहरू ३ वर्षीया गायत्रीकुमारी र ६ वर्षीया सुगन्धाकुमारी, ६० वर्षीय बौकु सदा लगायत एक दर्जनभन्दा बढी स्थानीय झाडापखालाले प्रभावित छन् ।
घटनाबारे स्थानीय सरकार र जनस्वास्थ्य निकाय अहिलेसम्म सक्रिय नदेखिएको स्थानीयको गुनासो छ। ‘हामीले स्वास्थ्यकर्मी आउँछन् कि भनेर पर्खिरहेका छौँ, तर अहिलेसम्म कोही आएको छैन,’ स्थानीय शिवशंकर सदाले बताउनु भयो ।
उक्त वडाका वडाध्यक्ष जयप्रकाश ठाकुरका अनुसार घटनाबारे जानकारी प्राप्त भएपछि तत्काल पहल थालिएको छ। ‘स्थानीय स्वास्थ्य चौकीका कर्मचारीहरूलाई औषधि र उपचारका लागि खटाइएको छ, रोग फैलिन नदिनका लागि स्थानीय सरकार सक्रिय छ,’ उहाँले बताउनु भयो ।
स्वच्छ खानेपानी र सरसफाइको अभाव, साथै बर्खायामको फोहोर पानीका कारण रोग फैलिएको हुन सक्ने आशंका गरिएको छ। जनस्वास्थ्य विज्ञहरूले दूषित पानीको परीक्षण गर्न र प्रभावित क्षेत्रको तत्काल सरसफाइ अभियान सञ्चालन गर्न सुझाव दिएका छन्।

यता सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरम मुसहरी टोलमा झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पुगेको छ । प्रभावितको घर घरमै गएर व्यक्तिहरूको पखाला जाँचको लागि नमुना कलेक्सन गरिरहेको हो ।
पखालाको नमुना कलेक्सन गरेर जाँचको लागि पठाउने कार्य भइरहेको कोचाबखारी स्वास्थ्य चौकी लोखरमका प्रमुख आलोक रंजन झाले बताउनु भयो । उहाँले पखालाको नमुना कलेक्सन गरेर जाँचमा देखिएको समस्या अनुसार थप उपचार अगाडि बढाउने बताएका छन् ।
लोखरमको मुसहर बस्तीमा झाडापखाला लागेर एकै परिवारको तीन जनाको मृत्यु भएको छ । अहिले त्यहाँका १५ जनाको पखालाको नमुना कलेक्सन गरिएको प्रमुख झाले बताउनु भयो ।
प्रकाशित मिति: २०२५-११-०२ , समय : १६:३२:२४ , 4 weeks अगाडि