कर अधिकृत र ठेकेदार मिलेर १ करोड २३ लाख भ्याट छली : अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
१ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ बिगोसहित जरिवाना तथा कैद सजायको माग
मिति: २०२५-११-०६ , समय : २१:२५:५६ , गामघर डेस्क
मिति: २०२५-११-०६ , समय : २१:२५:५६ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व रकम हिनामिनाको आरोपमा दुईजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
आयोगले धरानका तत्कालीन आन्तरिक राजस्व कार्यालयका कर अधिकृत तिलक आले र कम्पनीका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिकाले गछिया खोलामा नदीजन्य पदार्थ उत्खननका लागि स्वामिनारायण निर्माण सेवा प्रालिसँग ९ करोड ५१ लाख ५१ हजार ५१ रुपैयाँ (भ्याटबाहेक) मा ठेक्का सम्झौता गरेको थियो।
सो ठेक्काअनुसार कम्पनीले १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ भ्याट आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्नेमा कर अधिकृत आले र कम्पनीका प्रबन्धक बस्नेतसँग मिलोमतो गरी भ्याट रकम अनियमितता गरिएको आरोप छ ।
सोही घटनामा संलग्न रहेको ठहर गर्दै तत्कालीन कर अधिकृत आले र निर्देशक बस्नेत विरुद्ध १ करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ बिगो कायम गरी जरिवाना तथा कैद सजायको मागदाबी सहित आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
प्रकाशित मिति: २०२५-११-०६ , समय : २१:२५:५६ , 3 weeks अगाडि