सहयोगी बचत तथा ऋण सहकारी संस्थाकाे साधारण सभा सम्पन्न : झण्डै १ करोड १९ लाख नाफा

मिति: २०२५-११-१५ , समय : २०:३५:०४ , निकेश साह

तस्बिर : निकेश साह / गामघर टिभि

निकेश साह

बरमझिया । सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.८ बेरियरस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ मा १ करोड १९ लाख ५० हजार ६ सय ६८ रुपैयाँ नाफा आर्जन गरेको छ। शनिबार सम्पन्न १८ औँ वार्षिक साधारण सभामा व्यवस्थापक विनोदकुमार दासले प्रस्तुत गरेको प्रतिवेदनमार्फत सो सार्वजनिक गरिएको हो। संस्थाका अध्यक्ष अनोजकुमार यादबको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवी भोला पासवान, मनोज बहरखेर, खिखर प्रसाद साह, रब्बान खान, करिम शेखलगायतले शुभकामना मन्तव्य दिएका थिए। गत वर्ष अर्थात् २०८०/०८१ मा संस्था १ करोड १ लाख ३४ हजार ३७ रुपैयाँ नाफामा रहेकाले यस वर्ष सहकारीको व्यवसायिक वृद्धि प्रभावशाली रहेको व्यवस्थापनले बताएको छ।

अध्यक्ष अनोजकुमार यादबले निकट भविष्यमै भारदहमा सहकारीको नयाँ शाखा विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै, सहकारीको दिगो भविष्य सुनिश्चित गर्न सरकारले ल्याएका नयाँ नियमन र मापदण्डलाई कडाइका साथ पालना गर्नु पर्ने आवश्यकता औँल्याए। उनको भनाइमा, “नियमअनुसार चल्ने संस्थामात्र दीर्घकालीन रूपमा टिकाउ हुन्छन्, बाँकी कसैलाई रोक्न सरकारले खोजेको छैन।”

ऋण लगानी र असुली बढ्दो
उक्त सहकारीले चालू आर्थिक वर्षमा ३१ करोड ७६ लाख ७७ हजार ३०० रुपैयाँ ऋण लगानी गरेको छ, जबकि गत वर्ष ऋण लगानी ३२ करोड १३ लाख ३५ हजार ५१० रुपैयाँ थियो। चालू वर्षमा संस्थाले २६ करोड २ लाख २२ हजार ७७० रुपैयाँ ऋण असुली गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ। यद्यपि, कुल ३७ करोड ८७ लाख ९० हजार ४० रुपैयाँ ऋण रकम अझै बाँकी रहेको सहकारीले जनाएको छ।

शेयर पूँजी ३ करोड ३१ लाख पुग्यो
सहकारीको शेयर पूँजी निरन्तर बढ्दो छ। गत वर्षको शेयर रकम ३ करोड ३० लाख ४७ हजार ३०० रुपैयाँ रहेकोमा यो वर्ष ३ करोड ३१ लाख १६ हजार ५०० रुपैयाँ पुगेको छ। यस अवधिमा ९ लाख १८ हजार ७०० रुपैयाँ बराबरको शेयर फिर्ता भएको र ८ लाख ४९ हजार ५०० रुपैयाँ बराबरको शेयर बाँकी रहेको प्रतिवेदनले देखाउँछ। प्रतिकित्ता शेयर मूल्य १०० रुपैयाँ कायम गरिएको छ। सहकारी दर्ता हुँदाका ३० शेयर सदस्यबाट सुरु भएको संस्था अहिले २,५७० महिला र १,९७८ पुरुषसहित ४,५४८ शेयर सदस्यमा विस्तार भएको छ।

बचत रकम ४४ करोड नाघ्यो
बचत व्यवसाय सहकारीको मुख्य मजबुती बनेको छ। गत वर्ष बचत रकम ३५ करोड २१ लाख ७६ हजार ७८१ रुपैयाँ रहेकोमा यो वर्ष कुल बचत ८९ करोड ८१ लाख ६८ हजार ६६५ रुपैयाँ ६५ पैसामा पुगेको छ। सोही अवधिमा ८० करोड ७६ लाख ५ हजार ६६३ रुपैयाँ ८० पैसा फिर्ता भएपछि सहकारीमा कूल ४४ करोड २७ लाख ३९ हजार ७८२ रुपैयाँ ८५ पैसा बराबरको बचत बाँकी छ।

सहकारीले ऐच्छिक, साधारण तथा वाल बचतसहितका विभिन्न प्रकारका बचत खाता सञ्चालन गर्दै आएको छ। ऐच्छिक बचतकर्ता २,२५६, वाल बचत ३५ र साधारण बचतकर्ता ५,७५३ पुगेका छन्, जसले बचत व्यवसायको मजबुती स्पष्ट देखाउँछ।

ऋणमा ८५७ सदस्य, अधिकतम सीमा ७५ लाख
हाल सहकारीबाट ऋण लिने सदस्य संख्या ८५७ पुगेका छन्, जसमा ४२९ महिला र ४१८ पुरुष छन्। सहकारीले न्यूनतम ५ हजारदेखि अधिकतम ७५ लाख रुपैयाँसम्म ऋण सुविधा पुर्‍याउँदै आएको छ। ऋण लगानीमा १२ देखि १५ प्रतिशतसम्मको व्याजदर लागू रहेको सहकारीले जनाएको छ। सञ्चालक समितिबाट लिइएको ऋण रकम ९३ हजार २७७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

सहकारीको संरचना र सदस्य विस्तार
सहकारी २०६५ साल मंसिर २९ गते दर्ता भई औपचारिक रूपमा सञ्चालनमा आएको हो। दर्ता मितिमा जम्मा ३० सदस्य रहेको सहकारी अहिले ४,३४६ सदस्यमा विस्तार भइसकेको छ। सहकारीको सञ्चालक समितिमा ७ सदस्य रहेका छन्, जसमा २ महिला र ५ पुरुष छन्। समितिको कार्यकाल ४ वर्षको रहेको छ र पछिल्लो पुनर्गठन २०८० साल मंसिर १५ गते भएको हो।

सहकारीले चालू वित्तीय वर्षमा १४ पटक सञ्चालक समिति बैठक, ४ पटक लेखा सुपरीवेक्षण समिति बैठक र १२ पटक ऋण उपसमिति बैठक सम्पन्न गरेको छ।

बचत–ऋणसँगै मल व्यवसाय र रेमिट्यान्स सेवा
सहयोगी बचत तथा ऋण सहकारीले वित्तीय कारोबारका अतिरिक्त खाद–मल खरिद–बिक्री, रेमिट्यान्स सेवा, आन्तरिक लेखापरीक्षण र व्यवस्थापन प्रणालीमार्फत स्थानीय समुदायलाई सहज र पहुँचयोग्य सेवा प्रदान गर्दै आएको छ। सहकारी कञ्चनरुप नगरपालिका क्षेत्रभर सेवा विस्तार गरिरहेको छ र एक शाखा महादेवपट्टी, सप्तरीमा सञ्चालन भइरहेको छ।

वार्षिक सभामा सहकारीका सचिव शोभाकान्त गुप्ताले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। उपाध्यक्ष सञ्जय खडगाले सहभागीहरूलाई स्वागत गर्दै सहकारीले असल ऋणी तथा नियमित बचतकर्तालाई सम्मान गर्ने योजना रहेको जानकारी दिए। कार्यक्रमको सञ्चालन कृष्णलाल यादवले गरेका थिए।

समापनमा साधारण सभाले सहकारीको पारदर्शिता, समर्पण तथा स्थानीय विकासमा खेलेको भूमिकाको प्रशंसा गर्दै भविष्यमा सेवा विस्तारलाई अझ प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति: २०२५-११-१५ , समय : २०:३५:०४ , 2 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित