सप्तरी प्रहरीद्वारा बरामद गरिएको झण्डै ९७८ किलोग्राम गाँजा नष्ट
मिति: २०२५-१२-०६ , समय : १८:२२:०३ , निकेश साह
मिति: २०२५-१२-०६ , समय : १८:२२:०३ , निकेश साह
तस्बिर : निकेश साह / गामघर टिभि
निकेश साह
कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकामा इलाका प्रहरी कार्यालय कञ्चनपुरले ठूलो मात्रामा बरामद गरिएको लागू औषध गाँजा आइतबार औपचारिक रूपमा आगो लगाएर नष्ट गरेको छ । प्रहरीले करिब ९७८ किलोग्राम गाँजा नष्ट गरेको हो ।
आइतबार बिहान करिब ११ बजे कञ्चनरुप नगरपालिका वडा नम्बर ८ स्थित सुन्दरी खोलाको बगरमा खाल्डो खनी उक्त लागू औषध नष्ट गरिएको प्रहरीले जनाएको छ । गाँजा नष्ट प्रक्रिया कानुनी मापदण्ड र लागू औषध नियन्त्रण ऐन, २०३३ को दफा ११ (क) अनुसार विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न गरिएको हो ।
प्रहरीका अनुसार मिति २०८२ साल ०८ महिना ०४ गते सप्तरी जिल्ला कञ्चनरुप नगरपालिका वडा नम्बर २, बरमझिया स्थित पूर्व–पश्चिम लोकमार्ग सडक खण्डमा सवारी साधन चेकजाँचको क्रममा ठूलो मात्रामा लागू औषध गाँजा बरामद गरिएको थियो ।
कञ्चनपुरबाट भारदहतर्फ जाँदै गरेको ना ५ ख ५३५ नम्बरको ASHOK LEYLAND कम्पनीको ट्रकलाई रोकी खानतलासी गर्दा ट्रकभित्र २८ वटा बोरामा राखिएको गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो । बोरा सहित तौल गर्दा ९८९ किलोग्राम र बोरा बाहेक तौल गर्दा ९७८ किलोग्राम लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । 
बरामद गरिएको पदार्थमध्ये २५२ ग्राम नमूनाको रूपमा छुट्याई परीक्षणका लागि राखिएको र बाँकी ९७७ किलोग्राम ७४८ ग्राम गाँजा विधिवत् नष्ट गरिएको हो । उक्त गाँजालाई खाल्डोमा राखी पराल र मट्टीतेल छर्केर आगो लगाई नष्ट गरी खाल्डो पुरिएको प्रहरीले जानकारी दिएको छ ।
यस घटनामा प्रहरी निरीक्षक लेखबहादुर विष्टको जाहेरीका आधारमा नेपाल सरकार वादी र संजय श्रेष्ठ समेतलाई प्रतिवादी बनाएर सप्तरी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।
गाँजा नष्ट गर्ने कार्यमा सप्तरी जिल्ला अदालतका प्रतिनिधि सकल देव मण्डल, इलाका प्रशासन कार्यालय कञ्चनपुरका प्रतिनिधि रामकुमार चौधरी, अवलोकित दैनिकका प्रतिनिधि किशोर पासवानलगायत विभिन्न सरकारी निकाय, सञ्चारकर्मी तथा स्थानीय व्यक्तिहरूको उपस्थितिमा मुचुल्का उठाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लागू औषधको अवैध कारोबार नियन्त्रणका लागि नियमित गस्ती र सवारी चेकजाँचलाई थप कडाइ गरिएको र यस्ता अवैध गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी दिइएको छ ।
यता प्रहरीले समाजमा लागू औषधको प्रयोग तथा ओसारपसार बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सर्वसाधारणलाई पनि सचेत रहन र शंकास्पद गतिविधिबारे तुरुन्त नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ ।
प्रकाशित मिति: २०२५-१२-०६ , समय : १८:२२:०३ , 20 hours अगाडि