मन्त्रिपरिषद्को ऐतिहासिक निर्णय : सिराहामा उत्साह र आशाको नयाँ बिहानी

मिति: २०२५-१२-१५ , समय : २०:५४:१३ , दिलीप यादव

तस्बिर : दिलीप यादव / सिरहा

दिलीप यादव

सिरहा ।
जेनजि आन्दोलनपछि मन्त्री बनेको बब्लु गुप्ताको विशेष पहलमा मधेस प्रदेशको सिराहाको स्वास्थ्य सेवामा ऐतिहासिक फड्को आएको छ। उनीहरूको दूरदर्शी नेतृत्व, समन्वय र जनहितप्रति प्रतिबद्धताका कारण जिल्लाको स्वास्थ्य पूर्वाधार सुदृढ हुनुका साथै सेवा प्रवाह थप प्रभावकारी, पहुँचयोग्य र भरोसायोग्य बनेको छ। यस पहलले सिराहाका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवाप्रति नयाँ आशा र विश्वास दिलाएको छ।

विगत करिब ४ दशक लामो कानुनी गाँठो फुकाउँदै सिरहाको लहानस्थित ‘राम कुमार शारडा उमा प्रसाद मुरारका प्रादेशिक अस्पताल’को जग्गा स्वामित्वको प्रक्रिया अन्ततः टुंगोमा पुगेको छ।

वि.सं. २०३५ सालमा दाता परिवार र तत्कालीन सरकारबीच सम्झौता भए पनि जग्गाको लालपूर्जा दाताकै नाममा हुँदा अस्पतालको स्वामित्व स्थापित हुन सकेको थिएन। कानुनी स्वामित्व नहुँदा अस्पतालको भौतिक पूर्वाधार विकास र स्तरोन्नतिमा दशकौंदेखि बाधा पुग्दै आएको थियो।

यो महत्वपूर्ण र जटिल कार्य युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको विशेष पहल र सक्रियतामा सम्भव भएको हो। मन्त्री गुप्ताको यस कदमलाई सिरहा जिल्लाको विकासमा ‘ऐतिहासिक निर्णय (Landmark Decision)’ को रूपमा लिइएको छ। उहाँको असाधारण प्रयासले लामो समयदेखि अल्झिएको यो समस्या समाधान गर्न निर्णायक भूमिका खेल्यो, जसले गर्दा लाखौं नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने सुनिश्चित भएको छ।
मन्त्री गुप्ताको सबैभन्दा ठूलो र महत्त्वपूर्ण योगदान भनेको जग्गा नामसारी गर्दा लाग्ने विशाल रकम छुट गराउनु हो। अस्पतालले तिर्नुपर्ने रु. १,३४,९५,९५९/- (एक करोड चौँतीस लाख पन्चानब्बे हजार नौ सय उन्नसाठी रुपैयाँ) भन्दा बढीको पुँजीगत लाभकर (Capital Gains Tax) छुट गराउन उहाँ सफल हुनुभयो। यो रकम छुट गराउन मन्त्री गुप्ताले संघीय अर्थ मन्त्रालय र मन्त्रिपरिषद बाट विशेष निर्णय गराउनु भयो, जसले गर्दा ठूलो वित्तीय बोझ हटेर रोकिएको नामसारी प्रक्रिया अगाडि बढ्न सम्भव भयो।

मन्त्री गुप्ताको पहलले अब दाताहरू पवन कुमार शारडा र मुरारी लाल मुरारकाको नाममा रहेको कुल १ विघा १५ कठ्ठा १० धुर जग्गा विधिवत् रूपमा अस्पतालको स्वामित्वमा आएको छ। कानुनी स्वामित्व सुरक्षित भएसँगै अब अस्पतालको दीर्घकालीन विकासको ढोका खुलेको छ। सिरहा जिल्लाको पूर्वी भेगमा रहेको यो एकमात्र अस्पतालबाट करिब १० लाख मानिस स्वास्थ्य सेवाबाट लाभान्वित हुनेछन्।

लामो समयदेखिको यो जटिल समस्या समाधान गर्न अविस्मरणीय भुमिका निर्वाह गर्नुहुने माननीय मन्त्री बब्लु गुप्ता ,अनिल कुमार सिंहा र अर्थ मन्त्री रामेश्वरप्रसाद खनाल ज्युको विशेष पहलले यो अनुकरणीय निर्णय सम्भव भएको छ।

स्थानीय बासिन्दा र अस्पताल प्रशासनले मन्त्री गुप्ता र नेपाल सरकारप्रति गहिरो आभार व्यक्त गरेका छन्। मन्त्री गुप्ताको यो सुझबुझपूर्ण र उदाहरणीय कार्यले जनप्रतिनिधिको दृढ इच्छाशक्ति भएमा जतिसुकै पुराना र जटिल समस्याहरू पनि प्रभावकारी समन्वय र पहलबाट समाधान गर्न सकिन्छ भन्ने बलियो सन्देश दिएको छ।

प्रकाशित मिति: २०२५-१२-१५ , समय : २०:५४:१३ , 9 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित