मधेस प्रदेश : सूचना लुकाएको अभियाेगमा प्रशासकीय अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा
मिति: २०२५-१२-२५ , समय : ०७:०७:०५ , गामघर डेस्क
मिति: २०२५-१२-२५ , समय : ०७:०७:०५ , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
काठमाडौं । मधेस प्रदेशको पर्साको बहुदरमाई नगरपालिकामा सडक मर्मतको ठेक्का प्रक्रियामा मिलेमतो गरी सूचना लुकाएको र राज्यकोष दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा वडा नं. २, बैरियास्थित पानीटङ्की प्रवेशद्वारदेखि उत्तर पिपरा हुँदै महावीर साह माध्यमिक विद्यालयसम्म जाने सडक मर्मतका लागि बोलपत्र आह्वान गरेको थियो । सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४० (३) बमोजिम यस्ता सूचना राष्ट्रिय वा स्थानीय स्तरको समाचार पत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । तर, नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महम्मद शेरे मुस्तफा, सह-लेखापाल उपेन्द्रकुमार साह र ‘जन प्रतिविम्ब दैनिक’का प्रकाशक सञ्जयकुमार साहले आपसी मिलेमतोमा सूचना लुकाएको अख्तियारको दाबी छ ।
अख्तियारका अनुसार, प्रतिस्पर्धा सीमित गरी आफ्ना निकटका मानिसलाई ठेक्का दिलाउने बदनियतले सर्वसाधारण र अन्य बोलपत्रदाताले थाहा नपाउने गरी सूचना गोप्य राखिएको थियो ।
प्रेस काउन्सिल नेपालबाट प्राप्त विवरणअनुसार, ‘जन प्रतिविम्ब दैनिक’को २०८० चैत २५ गतेको हार्डकपी र पीडीएफ दुवै संस्करणको पहिलो पृष्ठमा उक्त सूचना प्रकाशन भएको छैन । अभिलेखमा राख्नका लागि आरोपितहरूले एक प्रति नक्कली पत्रिका निकालेर त्यसमा मात्रै सूचना छापेको र सोही आधारमा झुट्टो बिल र भरपाई बनाएर राज्य कोषबाट ६५ हजार रुपैयाँ भुक्तानी लिएको अख्तियारको दाबी छ ।अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ र दफा २२ बमोजिम दोषी ठहर गर्दै उनीहरू तीनैजनाविरुद्ध जनही ६५ हजार रुपैयाँ बिगो कायम गरी सजायको मागदाबी गरेको छ ।
प्रकाशित मिति: २०२५-१२-२५ , समय : ०७:०७:०५ , 2 hours अगाडि