मधेस प्रदेश : जंगलभित्र एक जना वन चौकीदारको हत्या , टाउकोबिना भेटियो शव
मिति: २०२६-०१-०४ , समय : १४:३९:१० , गामघर डेस्क
मिति: २०२६-०१-०४ , समय : १४:३९:१० , गामघर डेस्क
फायल तस्बिर
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका–२ राईटरखोरस्थित सागरनाथ वन विकास परियोजनाको जंगलभित्र एक जना वन चौकीदारको टाउकोबिनाको शव फेला परेपछि सम्पूर्ण क्षेत्रमा सनसनी फैलिएको छ । ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामईश्वर महतोको शव टाउको अलग भएको अवस्थामा भेटिएको सर्लाही प्रहरीले पुष्टि गरेको छ ।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार महतोको शव घरदेखि करिब पाँच सय मिटर टाढा जंगलभित्र फेला परेको हो । घटनास्थल सागरनाथ वन विकास परियोजनाअन्तर्गत पर्ने क्षेत्र हो, जहाँ महतो लामो समयदेखि वन चौकीदारका रूपमा कार्यरत थिए । उनी दैनिक रूपमा जंगल क्षेत्रमा गस्ती गर्ने र वन संरक्षणसम्बन्धी काममा संलग्न रहने गरेको स्थानीयले बताएका छन् ।
स्थानीयवासीका अनुसार शुक्रबार बिहान करिब ५ बजेतिर जंगलभित्र रुख काटिएको जस्तो आवाज सुनिएको थियो । आवाज आएको दिशातर्फ केही स्थानीय गए पनि त्यसबेला कुनै शंकास्पद गतिविधि प्रत्यक्ष देखिएको थिएन । तर दिउँसोसम्म पनि महतो घर नफर्किएपछि र उनको मोबाइल फोन ‘स्विच अफ’ देखिएपछि परिवारका सदस्य चिन्तित बनेका थिए । त्यसपछि परिवार र स्थानीय मिलेर खोजी सुरु गरिएको थियो ।
खोजतलासकै क्रममा जंगलभित्र महतोको शव टाउको अलग भएको अवस्थामा फेला परेको डीएसपी राईले जानकारी दिए । घटनास्थलमा तत्काल प्रहरी टोली पुगेको र शवको मुचुल्का गर्ने कार्य भइरहेको उनले बताए । हालसम्म शवसँग टाउको फेला नपरेको र त्यसको खोजी कार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ ।
घटनाको गम्भीरता मध्यनजर गर्दै साँझ धनुषाको लालगढबाट तालिम प्राप्त खोजी कुकुर झिकाएर अनुसन्धान थालिएको छ । कुकुरको सहयोगमा घटनास्थल वरपरका क्षेत्र, सम्भावित आवतजावत मार्ग र जंगलभित्रका अन्य भागमा खोजी भइरहेको प्रहरीले जनाएको छ । साथै घटनामा संलग्न हुन सक्ने व्यक्तिहरूको पहिचानका लागि स्थानीयसँग सोधपुछ भइरहेको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट यो घटना आपराधिक प्रकृतिको हुन सक्ने आशंका गरिएको छ । तर हालसम्म कसैलाई पक्राउ गरिएको छैन । घटनाको कारण, संलग्न व्यक्ति तथा उद्देश्यबारे यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पोस्टमार्टमका लागि शव आवश्यक प्रक्रिया पूरा गरी पठाइने तयारी भइरहेको छ ।
यस घटनाले स्थानीय बासिन्दामा त्रास फैलिएको छ । शान्त मानिने वन क्षेत्रभित्र यस प्रकारको घटना भएपछि सुरक्षा व्यवस्थाप्रति प्रश्न उठेको छ । स्थानीयले दोषीलाई छिटोभन्दा छिटो पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन् । प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन सबै पक्षबाट अनुसन्धान जारी राखेको जनाएको छ ।
प्रकाशित मिति: २०२६-०१-०४ , समय : १४:३९:१० , 2 weeks अगाडि