मधेस प्रदेश : अज्ञात समूहको गोली प्रहारबाट इञ्जिनियर यादवको हत्या
मिति: २०२६-०२-१५ , समय : २२:०६:३७ , गामघर डेस्क
मिति: २०२६-०२-१५ , समय : २२:०६:३७ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
काठमाडौं । अज्ञात समूहको गोली प्रहारबाट मधेस प्रदेशको सर्लाहीको मलंगवास्थित भौतिक पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत इञ्जिनियर प्रमोदकुमार यादवको हत्या भएको छ । ३६ वर्षीय यादवमाथि आइतबार साँझ करिब ७ : ५० बजे अज्ञात समूहले गोली चलाएको प्रहरीले जनाएको छ ।
सिरहाको सुखिपुर नगरपालिका–३ वैशाखा घर भएका यादव एक वर्षदेखि मलंगवामा डेरामा बस्दैआएका थिए । परिवार स्रोतकाअनुसार उनलाई अज्ञात व्यक्तिले फोन गरी घर बाहिर बोलाएका थिए । बाहिर निस्कनेवित्तिकै उनीमाथि गोली प्रहार भएको थियो । उनको शरीरमा एक गोली लागेको प्रहरीले जनाएको छ ।
गोली लागेर ढलेका यादवलाई घाइते अवस्थाका तत्काल प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । चिकित्सकले उपचारकै क्रममा उनलाई मृत घोषणा गरेका छन् ।
यता प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । घटनाको कारण र संलग्न व्यक्तिको खोजी कार्य जारी रहेको छ ।
प्रकाशित मिति: २०२६-०२-१५ , समय : २२:०६:३७ , 7 hours अगाडि