ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा विधिवत् रूपमा शुरू

मिति: २०२६-०२-१६ , समय : १५:३७:२७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मिथिलाको महाकुम्भको रूपमा चिनिने धार्मिक तथा ऐतिहासिक १५ दिने मिथिला मध्यमा परिक्रमा आजदेखि विधिवत रूपमा शुरू भएको छ । मधेस प्रदेशको धनुषाको मिथिला बिहारी नगरपालिका–८ कचुरीको मिथिला विहारी मन्दिरबाट झाँकी, कीर्तनसहित मुख्य डोला निकालिएको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादव तथा विभिन्न साधुसन्तहरूले संयुक्त रूपमा डोला मन्दिरबाट निकालेपछि परिक्रमा औपचारिक रूपमा प्रारम्भ भएको हो । यो परिक्रमा १५ दिनसम्म चल्नेछ र यसमा हजारौं साधुसन्त तथा श्रद्धालुहरू सहभागी छन् । यात्राले कूल १ सय ३३ किलोमिटर दूरी तय गर्दै नेपाल र भारतका विभिन्न पवित्र ठाउँहरू पार गर्नेछ ।

परिक्रमामा १५ ठाउँमा राति विश्राम गरिन्छ, जसमध्ये अधिकांश नेपालमा र केही भारतको बिहारमा पर्छन् । कचुरीबाट निस्केको डोलासहितका श्रद्धालुहरू साँझ जनकपुरधामको हनुमानगढीमा पुगेर विश्राम गर्नेछन् । जनकपुरधामको सुन्दर सदन मन्दिरबाट किशोरीजी, रामजानकी तथा अन्य मन्दिरका डोलाहरू पनि यसमा समाहित हुनेछन् । हनुमानगढीबाट मंगलबारदेखि परिक्रमा पूर्ण रूपमा विधिवत अगाडि बढ्नेछ ।

अठारौं शताब्दीदेखि चल्दै आएको यो परम्परा मिथिला महात्म्य ग्रन्थमा आधारित छ । परिक्रमा १५औं दिन जनकपुरधाममा अन्तर्गृह परिक्रमा (पञ्चकोशी) पूरा गरेपछि समापन हुन्छ र त्यसको भोलिपल्ट मिथिलाञ्चलमा होली पर्व मनाउने प्रचलन छ ।

जनविश्वासअनुसार मन, वचन र कर्मले परिक्रमा गर्दा अनेकौं पाप तथा अन्याय नष्ट हुने, मनोकामना पूरा हुने तथा अन्ततः मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ । यो धार्मिक यात्राले नेपाल–भारतबीचको सांस्कृतिक एकतालाई पनि मजबुत बनाउँदै आएको छ । श्रद्धालुहरूले यसलाई भगवान राम र माता जानकीको मिथिला आगमनसँग जोडेर हेर्ने गर्छन् ।

प्रकाशित मिति: २०२६-०२-१६ , समय : १५:३७:२७ , 13 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित