निर्वाचन विशेष : आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम
मिति: २०२६-०२-२३ , समय : २१:२४:०३ , गामघर डेस्क
मिति: २०२६-०२-२३ , समय : २१:२४:०३ , गामघर डेस्क
तस्बिर : देबराम यादव / गामघर टिभि
गामघर डेस्क
सप्तरी ।
आगामी फागुन २१ गते हसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आमसञ्चार विषयक एकदिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरी, राजबिराजको सभाहलमा जिल्ला निर्वाचन कार्यालय सप्तरीको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा कार्यालय प्रमुख रमेशकुमार जोशीले जिल्लाको समग्र निर्वाचन अवस्थाबारे विस्तृत प्रस्तुतीकरण प्रस्तुत गरेका थिए। उहाँका अनुसार सप्तरीका चार निर्वाचन क्षेत्रमा कुल ५६२ मतदान केन्द्र र २९६ मतदान स्थल तोकिएका छन् । जिल्लामा कुल ४ लाख ४६ हजार ४०२ जना मतदाता रहेका छन् ।प्रतिनिधि सभा सदस्य पदका लागि जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा १ सय २ जना उम्मेदवार प्रतिस्पर्धामा रहेको जानकारी पनि प्रमुख जोशीले दिनु भयो ।
यस्तै, मतदानमा सबै वर्गको सहभागिता सुनिश्चित गर्न दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको जनाइएको छ । ती मतदान केन्द्रहरू
राजबिराजस्थित जिल्ला कारागार र जिल्ला समन्वय समितिमा रहनेछन्।कारागारको मतदान स्थलबाट ६९ जना कैदीबन्दीले मतदान गर्नेछ भने जिल्ला समन्वय समितिमा रहेको मतदान स्थलबाट कर्मचारी तथा सुरक्षाकर्मी गरि लगभग करिब ३ हजार ८ सय जनाले मतदान गर्ने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले निर्वाचन सफल बनाउन सञ्चारकर्मीहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले सत्यतथ्य र निष्पक्ष सूचना सम्प्रेषणमार्फत स्वच्छ निर्वाचन सम्पन्न गर्न सबै सञ्चारमाध्यमलाई आग्रह गर्नु भयो ।
साथै, मतदाता शिक्षा कमजोर रहेको उल्लेख गर्दै मतदाता शिक्षा स्वयंसेवकलाई सक्रिय बनाइ मत बदर दर घटाउन निर्वाचन कार्यालयले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।
त्यसैगरी नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देवले निर्वाचन आचारसंहिताको दायराभित्र रही जिम्मेवार पत्रकारिता गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले सञ्चारकर्मीहरूले आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्दै निष्पक्ष र मर्यादित निर्वाचनमा सहयोग पु¥याउने बताउनु भयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा जिल्लाका दर्जनौं सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा निर्वाचन प्रक्रिया, आचारसंहिता, मतदाता शिक्षा तथा सञ्चारमाध्यमको दायित्वका विषयमा छलफल गरिएको थियो ।
प्रकाशित मिति: २०२६-०२-२३ , समय : २१:२४:०३ , 8 hours अगाडि