सप्तरीको राजविराजमा सुत्केरीको मृत्युपछि अस्पताल–पीडितबीच सहमति

मिति: २०२६-०२-२४ , समय : ०७:२७:५८ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल र पिडित पक्ष विच सहमति भएको छ । घटनापछि सरोकारवाला निकायबीच भएको छलफलबाट विभिन्न निर्णय सार्वजनिक गरिएको हो ।
घटनाको निष्पक्ष छानबिन तथा अनुसन्धानका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरी उच्चस्तरीय छानबिन समिति गठन गरिने निर्णय भएको छ । समितिको प्रतिवेदनका आधारमा कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जनाइएको छ ।
सहमति अनुसार अस्पतालले दाहसंस्कार, किरिया खर्च तथा नवजात शिशुको पालनपोषणका लागि तीन लाख रुपैयाँ उपलब्ध गराउने र पीडित परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गर्नेछ ।
यसैगरी पीडित पक्षले गर्दै आएको विरोध प्रदर्शन तथा आन्दोलन तत्कालका लागि स्थगित गर्ने निर्णय भएको छ ।अस्पताल प्रशासनले जनशक्ति व्यवस्थापन, भौतिक पूर्वाधार, प्रयोगशाला, फार्मेसीलगायत सेवामा सुधार गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । उक्त सबै निर्णयहरू सम्बन्धित मन्त्रालयमा पठाउने व्यवस्था गरिएको छ ।
गत फागुन १० गते अस्पतालमा उपचाररत एक महिलाको प्रसूति क्रममा मृत्यु भएको थियो। घटनापछि मृतकका आफन्त तथा स्थानीयवासीले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका थिए। स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अवस्था नियन्त्रणमा लिएको थियो ।
पीडित परिवारले घटनामा संलग्न दोषीमाथि कडा कारबाही, उचित क्षतिपूर्ति, नवजात शिशुको पालनपोषण खर्च, दाहसंस्कार तथा किरिया खर्च उपलब्ध गराउनुपर्ने माग अघि सारेका थिए । साथै परिवारका एक सदस्यलाई रोजगारी दिनुपर्ने, दलित समुदायका बिरामीलाई सोही अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने र संलग्न चिकित्सकको लाइसेन्स रद्द गर्नुपर्ने मागसमेत उठाइएको थियो ।

प्रकाशित मिति: २०२६-०२-२४ , समय : ०७:२७:५८ , 21 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित