सप्तरीमा हात्तीको आक्रमणबाट घाइते बृद्वाको उपचारको क्रममा मृत्यु

सप्तरीको उत्तरी भेगमा बर्षेनी कोशी टप्पु बन्यजन्तु आरक्षबाट आएको हात्तीले जनधनको क्षति गर्दै आएको स्थानिय बताउँछन ।

मिति: २०२६-०३-१५ , समय : १८:३३:४८ , गामघर डेस्क

तस्बिर : देबराम यादव / गामघर टिभि

गामघर डेस्क

सप्तरी ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.१२ धरमपुरकी एक बृद्वाको हात्तीको आक्रमणबाट गम्भीर घाइतको उपचारको क्रममा मृत्यु भएको छ । धरमपुरकी ६९ बर्षीया खड्गमति राईको आइतबार उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
गत फागुन २० गते हात्तीको आक्रमणमा परि गम्भीर घाइते भएकी राईको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारको क्रममा आईतवार विहान ८ बजे मृत्यु भएको मृतकका परिवारजनले जनाएको छ ।
खुट्टा तथा चाकमा गम्भीर चोट लागेको आमाको उपचारको क्रममा ज्यान गएको छोरा चन्द्र कुमार राईले बताउनु भयो । उहाँका अनुसार मृतक राईको शव परिक्षणका लागि विराटनगर स्थित कोशी अस्पताल लगिएको छ ।
शव परिक्षण पछि आइतबार साँझसम्म शव घर ल्याउने तयारी गरिएको उहाँले जानकारी दिनु भयो । बाख्रा गोठालो गएकी राईलाई घर फर्कने क्रममा गत फागुन २० गते दिउँसो ३ बजे घर नजिक आइपुग्दा हात्तीले आक्रमण गरेका थिए ।
स्थानीयका अनुसार राई घर आइपुग्न लाग्दा दर्जनौंको संख्याको बथानमा रहेको हात्ती मध्ये एक गाउँमा पसेर उपद्रो मच्याई रहँदा आक्रमणमा परेकी थिइन ।
हात्तीको आक्रमणबाट ठूलो क्षति हुँदा समेत सुरक्षाप्रति राज्य पक्षबाट कुनै पहल नभएको हात्ती पीडितहरुको गुनासो छ ।

प्रकाशित मिति: २०२६-०३-१५ , समय : १८:३३:४८ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्