आज रामनवमी पर्व मनाइँदै : देशभर सार्वजनिक बिदा

मिति: २०२६-०३-२७ , समय : ०८:०९:५२ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदैछ ।
त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।

भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए ।धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गरेको बताउँछन् ।

रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ ।यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ । रामनवमी पर्वको अवसरमा सरकारले आज देशैभरी सार्वजनिक बिदा भिएको छ।

प्रकाशित मिति: २०२६-०३-२७ , समय : ०८:०९:५२ , 2 hours अगाडि