मधेसी मूलबाट पहिलो प्रधानमन्त्री : मधेसीया छोरा बालेन शाह भए नेपालकाे सबैभन्दा कान्छाे ३६ बर्षिय युवा जननिर्वाचित प्रधानमन्त्री

पहिलो मन्त्रिपरिषद् बैठकका ४ निर्णय , बालेनलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई

मिति: २०२६-०३-२७ , समय : १९:४६:१० , शुभ नारायण यादव

तस्बिर : शुभ नारायण यादव / गामघर टिभि , काठमाडौं

शुभ नारायण यादव

काठमाडौँ । नेपालको राजनीतिक इतिहासमा एक अप्रत्याशित, तर व्यापक जनसमर्थनले सम्भव बनाएको परिवर्तनकारी अध्याय लेखिएको छ। र्‍यापरदेखि महानगर प्रमुख हुँदै राष्ट्रिय राजनीतिमा उदाएका बालेन्द्र शाह (बालेन) ३६ वर्षको उमेरमै देशका सबैभन्दा कान्छा जननिर्वाचित प्रधानमन्त्री बनेका छन्। परम्परागत दलहरूको दीर्घ वर्चस्वलाई चुनौती दिँदै उनले स्थापित नेतृत्वलाई पराजित गरेर सत्ता सम्हाल्नु नेपाली लोकतान्त्रिक अभ्यासकै एक ऐतिहासिक मोडका रूपमा हेरिएको छ।

ओली पराजित, नयाँ शक्तिको उदय

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिएका बालेनले केपी शर्मा ओली जस्ता अनुभवी र प्रभावशाली नेतालाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरे। बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओलीले १८ हजार ७३४ मतमा सीमित रहनु नेपाली मतदाताको मनोविज्ञानमा आएको ठूलो परिवर्तनको संकेत मानिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो परिणाम केवल चुनावी जित मात्र होइन, जनताको असन्तुष्टि, निराशा र नयाँ विकल्पप्रतिको आकांक्षाको प्रत्यक्ष अभिव्यक्ति हो। दशकौंसम्म सत्ता सम्हालेका दलहरूविरुद्ध जनमत एकीकृत हुँदा बालेनको विजय सम्भव भएको ठानिन्छ।

महानगरदेखि सिंहदरबारसम्म : एक असामान्य यात्रा

काठमाडौँ महानगरपालिकाको मेयरको रूपमा लोकप्रियता कमाएका बालेनले माघ ४ गते पदबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका थिए। पार्टीले उनलाई प्रधानमन्त्रीको प्रमुख अनुहारका रूपमा अघि सार्दै चुनावी अभियान सञ्चालन गरेको थियो।

मेयर हुँदा उनले भ्रष्टाचार नियन्त्रण, शहरी व्यवस्थापन, सार्वजनिक सेवा सुधार र युवामैत्री नीति लागू गर्ने प्रयास गरेका थिए। ती कार्यशैलीले उनलाई ‘सिस्टम तोड्ने’ नेताका रूपमा स्थापित गर्‍यो, जसले राष्ट्रिय राजनीतिमा प्रवेश गर्दा ठूलो जनसमर्थन जुटाउन सहयोग पुर्‍यायो।

धार्मिक परम्परा र आधुनिक राजनीतिक प्रतीकवाद

राम नवमीको अवसर पारेर १२ः३४ को शुभ साइतमा सम्पन्न भएको शपथग्रहण समारोहले पनि व्यापक चर्चा पायो। समारोहमा १०८ बटुकद्वारा स्वस्ति वाचन, १६ बौद्ध भिक्षुद्वारा अष्ठमङ्गल पाठ र सातवटा शङ्खबाट शङ्खनाद गरिएको थियो।

यो दृश्यले नेपालको बहुसांस्कृतिक र बहुधार्मिक पहिचानलाई झल्काउँदै आधुनिक लोकतान्त्रिक नेतृत्वले परम्परागत संस्कारलाई पनि सम्मान गरेको सन्देश दिएको विश्लेषकहरू बताउँछन्।

इतिहाससँग तुलना : बालेन कहाँ उभिन्छन्?

नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापा मानिन्छन्, जसले वि.सं. १८६३ देखि १८९४ सम्म शासन गरेका थिए। त्यस्तै जंगबहादुर राणा ३१ वर्षमै सत्तामा पुगेका थिए, तर त्यो समय जननिर्वाचित प्रणाली थिएन।

पञ्चायतकालमा तुलसी गिरी ३३ वर्षमै प्रधानमन्त्री बनेका थिए भने लोकतान्त्रिक अभ्यासमा सबैभन्दा पाका उमेरका प्रधानमन्त्रीमा मनमोहन अधिकारी र सुशील कोइराला पर्छन्, जो दुवै ७४ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए।

यस पृष्ठभूमिमा बालेनको उदय केवल उमेरको हिसाबले मात्र होइन, राजनीतिक संरचनामा आएको पुस्तान्तरणको संकेतको रूपमा पनि व्याख्या गरिएको छ।

मधेसी मूलबाट पहिलो प्रधानमन्त्री

नवनियुक्त प्रधानमन्त्री शाह
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्ब


वर्षौंदेखि ब्राह्मण–क्षेत्री समुदायको वर्चस्व रहेको सत्ताको नेतृत्वमा बालेन मधेसी मूलबाट पहिलो प्रधानमन्त्री बनेका छन्। यसले नेपालको समावेशी राजनीतिमा नयाँ अध्याय सुरु भएको सन्देश दिएको छ।राजनीतिक वृत्तमा यसलाई सामाजिक प्रतिनिधित्वको विस्तार र समावेशी लोकतन्त्रतर्फको सकारात्मक संकेतका रूपमा हेरिएको छ।

व्यक्तिगत जीवन र शैक्षिक पृष्ठभूमि

२०४७ साल वैशाख १४ गते काठमाडौँको नरदेवीमा जन्मिएका बालेनका पिता डा. रामनारायण शाह र आमा ध्रुवदेवी शाह हुन्। उनी परिवारका कान्छा सन्तान हुन्।
उनले ह्वाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक तथा भारतको विश्वेश्वरय्या प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन्।२०७२ सालको विनाशकारी भूकम्पपछि उनले उद्धार तथा पुनर्निर्माणमा सक्रिय भूमिका निर्वाह गरेका थिए, जसले उनलाई सामाजिक अभियन्ताको रूपमा पनि चिनायो।उनकी पत्नी सविना काफ्ले जनस्वास्थ्य क्षेत्रमा कार्यरत छिन्, र उनीहरूको वैवाहिक जीवन करिब आठ वर्षअघि सुरु भएको हो।

संगीतदेखि राजनीतिसम्म : बहुआयामिक व्यक्तित्व

बालेनको परिचय केवल राजनीतिमा सीमित छैन। उनी नेपाली र्‍याप सङ्गीतका चर्चित कलाकार पनि हुन्। कक्षा ९ मा अध्ययनरत हुँदा उनले ‘सडक बालक’ गीतमार्फत संगीत यात्रा सुरु गरेका थिए।उनका गीतहरू सामाजिक यथार्थ, असमानता र राजनीतिक विसंगतिलाई उजागर गर्ने खालका हुने भएकाले युवामाझ अत्यधिक लोकप्रिय छन्। यही सांस्कृतिक प्रभावले पनि उनलाई राजनीतिक समर्थन जुटाउन मद्दत गरेको विश्लेषण गरिन्छ।

स्थानीय राजनीतिबाट राष्ट्रिय नेतृत्वसम्मको आधार

२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा विजयी हुँदा धेरैले उनलाई ‘चमत्कारिक घटना’ का रूपमा व्याख्या गरेका थिए। उनले ६१ हजार ७६७ मत प्राप्त गर्दै केशव स्थापित र सिर्जना सिंह जस्ता स्थापित उम्मेदवारलाई पराजित गरेका थिए।
यो विजय नै उनको राष्ट्रिय राजनीतिक यात्राको आधार बन्यो।

नयाँ युगको संकेत कि अस्थायी लहर?

२०४६ सालको जनआन्दोलनपछि करिब ३५ वर्षसम्म उही परम्परागत दल र नेताहरूको वर्चस्व रहँदै आएको थियो। तर बालेनको उदयले त्यो चक्र तोडिएको संकेत दिएको छ।देशले ५२ वर्षपछि ४० वर्षमुनिको प्रधानमन्त्री पाएको सन्दर्भमा यसलाई ‘युवा नेतृत्वको पुनर्जागरण’ का रूपमा पनि व्याख्या गरिएको छ। यद्यपि चुनौतीहरू भने कम छैनन्—आर्थिक संकट, बेरोजगारी, प्रशासनिक जटिलता र अन्तर्राष्ट्रिय सम्बन्ध जस्ता विषयहरूमा उनको नेतृत्वको परीक्षा हुनेछ।

आशा, अपेक्षा र परीक्षणको समय

बालेन शाहको प्रधानमन्त्री पदमा उदय केवल एक व्यक्तिको सफलता होइन, जनताको चाहना, निराशा र परिवर्तनको खोजीको परिणाम हो। अब उनको नेतृत्वले यी अपेक्षाहरूलाई कति पूरा गर्न सक्छ भन्ने कुराले नेपालको भविष्य निर्धारण गर्नेछ।उनको यात्रा ‘सडक बालक’ गीतबाट सुरु भएर सिंहदरबारसम्म आइपुगेको छ—अब हेर्न बाँकी छ, यो यात्राले देशलाई कुन दिशातर्फ लैजान्छ। यस्तै नयाँ बनेको सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ ।जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत ४ वटा निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।आजै प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले पहिलो मन्त्रिपरिषद् राखेका थिए ।
उक्त बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसहितका निर्णय गरेको उनले बताए ।

यस्ता छन् बैठकका निर्णय :

–भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने ।
–नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।
–सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्ने । (भोलिसम्म प्रकाशित गर्ने)

–भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।
पहिलो, उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने ।दोस्रो, अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने ।
यता प्रधानमन्त्री बालेन्द्र साह (बालेन)लाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले शुक्रबार दिउँसो फेसबुकमार्फत बधाई दिएका हुन् ।
‘नेपालका प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएकोमा श्री बालेन्द्र शाहलाई हार्दिक बधाई, तपाईँको नियुक्ति नेपाली जनताले तपाईँको नेतृत्वमा राखेको विश्वासको प्रतिबिम्ब हो । भारत–नेपालबीचको मित्रता र सहकार्यलाई दुवै देशका जनताको पारस्परिक हितका लागि अझ उचाइमा पु¥याउन तपाईंसँग नजिकबाट काम गर्न म उत्सुक छु,’ प्रधानमन्त्री बालेनलाई बधाई दिँदै मोदीले लेखेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले बालेनसँग नेपाल भारत सम्बन्ध र सहयोगलाई अझ बढी उचाइमा पुर्‍याउन निकटतासाथ काम गर्ने अपेक्षा पनि राखेका छन्। बालेन शुक्रबार नेपालका प्रधानमन्त्री नियुक्त भएका हुन्।

प्रकाशित मिति: २०२६-०३-२७ , समय : १९:४६:१० , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित