अदालतकाे आदेश विपरीत घर भत्काईयाे : नगरपालिकाले घर भत्काएपछि कुसियैत परिवार बिचल्लीमा

मिति: २०२६-०४-०४ , समय : १४:०६:१५ , बिन्दु कुमार यादव

तस्बिर : बिन्दु यादव / गामघर टिभि

बिन्दु कुमार यादव

राजविराज ।
अदालतको आदेश विपरित पालिकाले बाटो बनाउने नाममा आफ्नो घर भत्काएकाे हनुमाननगर कंकालिनी नगरपालिकाका एक व्यक्तिले आराेप लगाएका छन् ।

नगरपालिकाकाे वडा नम्बर ३ पोर्ताहा निवासी बेचु कुसियैत यादवले नगरपालिकाले बलजफ्ती घर भत्काएको भन्दै न्याय दिलाइदिन सम्बन्धित निकायसँग आग्रह गरेका हुन् ।

साविकको पोर्ताहा गाविस वडा नम्बर ६ को कित्ता नम्बर २१ को जग्गामा साविकदेखी नै घर बनाएर बसोबास गर्दै आएको घर मेयर बिरेन्द्र माझीको नेतृत्वमा नगरपालिकाले बल्जफ्ती भत्काएकाे उनकाे आराेप छ ।

उनका अनुसार नगरपालिकाले यसअघि माघ मै घर तोड्ने प्रयास गर्दा उच्च अदालत राजविराजमा निषेधाज्ञा रिट दायर गरेपछि घर नभत्काउन आदेश दिएको थियो ।

१२ माघ २०८२ मा अदालतले दिएको आदेशमा भनिएको छ, ‘जग्गाधनीको सहमति नलिइ वा कानुन बमोजिम जग्गा प्राप्तिको प्रक्रिया पूरा नगरी बाटो निर्माण /विस्तार नगर्न र घर नभत्काउनु भनी विपक्षीका नाममा निषेधाज्ञा जारी हुने ठहर्छ ।’

यो आदेश विपरीत बिहीबार बिहान ११ बजे नगरपालिकाका कर्मचारीहरु बिहीबार आफ्नो घर आएर जेसिबिले घर तोड्ने चेतावनी दिदैं शुक्रबार भत्काइ नै दिएको यादवले बताए ।

घर नतोड्न अदालतले आदेश दिएको भन्दा कर्मचारीले मेयरको ठाडो आदेश रहेकाले घर तोड्ने बताएपछि बिहीबार नै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको यादवले बताए । अदालतकाे आदेश कार्यान्वयन गराउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि इलाका प्रहरी कार्यालय कंचनपुरमा पत्राचार गरिँदा प्रहरी समेतले चासो नलिएको यादवको भनाई छ ।

बर्षौदेखि आफ्नै जग्गामा बनाएको घर भत्काइदिएपछी पूरा परिवारै समस्यामा परेको यादवले बताए ।

सार्वजनिक जग्गा हुँदाहुँदै बाटो बनाउने नाममा अदालतको आदेश विपरीत आफ्नो घर भत्काएको भन्दै उनले क्षतिपूर्तिसहित न्याय दिलाइदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
यता हनुमानगर कंकालनी नगरपालिकाका मेयर बिरेन्द्र माझीले कानुन अनुसार नै पाेर्ताहा – भलुवा सडक अन्तर्गत पर्ने बैजु कुसियैतकाे घर भत्काइएकाे दाबी गरेका छन् । जागरणसंग संक्षिप्त्त कुराकानीमा माझीले नगरपालिका संग सम्बन्धित पक्षले ढेड मिटर जग्गा खाली गर्ने सहमति विपरीत अदालत गएकाे र आफुहरू पनि अदालतबाटै अनुमति लिएर बाटाे फराकिलो गरेकाे बताए ।
यता नगरपालिकाले घर भत्काएपछि कुसियैत परिवार बिचल्लीमा परेका छन् ।

प्रकाशित मिति: २०२६-०४-०४ , समय : १४:०६:१५ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित