मधेस प्रदेश :तीन दिनदेखि बेपत्ता ३ वर्षीय नाबालकको शव फेला

मिति: २०२६-०५-११ , समय : १९:३४:३६ , गामघर डेस्क

गामघर डेस्क

सिरहा । मधेस प्रदेशको सिरहाको बरियारपट्टी गाउँपालिका ४ सोहपुरबाट गत शुक्रवारदेखि हराईरहेका नाबालकको शव घरदेखि करिव पाँचसय मिटर पर फेला परेको छ। शुक्रबार अपरान्ह करिव २ बजेदेखि हराईरहेका ३ वर्षिय बालक अभियांशुकुमार यादवको शव आज अपरान्ह जङ्गली जनावरले लुछेको अवस्थामा फेला परेको हो।

घरबाट करिब ५० मिटर उत्तरतर्फ रहेको पोखरीमा डुवेको हुनसक्ने आशंकामा तीन दिनदेखि स्थानीय माछामार्ने माझीमार्फत जाल लगाएर खोजी गरेका थिए। उनीहरुले फेला पार्न नसकेपछि आज सशस्त्र प्रहरीको बर्दिवासस्थित बाहिनीबाट गोताखोर टोली परिचालन खोजिगर्दा समेत नभेटेपछि पोखरी वरपर खोजि गर्दा फेला परेको वडा अध्यक्ष नविन कुमार यादवले जानकारी दिए।

उनले भने, ‘हामीले पनि दुई दिनदेखि जाल लगाएर खोजी गर्यौं, आज पनि प्रहरीको गोताखोरले खोजिगर्नुभयो। नभेटिएपछि सवैले पोखरीको डीलहरुमा खोजिगदाए पोखरीभन्दा करिव ५० मिटरको दुरीमा अर्को पोखरीको डिलमा बालको शव फेला परेको हो।’

गोताखेरले खोज्दा समेत नभेटिएपछि स्थानीय पोखरी वरपर खोज्ने क्रममा गन्ध आएपछि मानिस त्यसतर्फ खोज्न गएका थिए। त्यहाँ पुग्दा शव छतविछ भएको अवस्थामा भेटिएको छ। श्वको कम्मरमुनिको भाग, एउटा हात जङ्गली जनाबरले लुछेको जस्तो देखिएको वडा अध्यक्ष यादवले जानकारी दिए।

लक्ष्मीपुर पतारी गाउँपालिका १ नवटोली घर भएका भोगेन्द्र यादवका छोरा अभियांशु केही समयदेखि आमासँग मामाघरमा बस्दै आएका थिए। उनको बुवा बैदेशिक रोजगारीमा छन्।

प्रहरीले शव फेला परेको बताउँदै घटना मुचुल्का लिने कार्य आरम्भ भएका बताए। जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले शव फेला परेको र त्यसको प्रकृति मुचुल्का लिने कार्य भईहेको बताए।

उनले अहिले नै घटनाको बारेमा केही बताउन नसकिने भन्दै अनुसन्धान भईरहेको जानकारी दिए।

प्रकाशित मिति: २०२६-०५-११ , समय : १९:३४:३६ , 1 hour अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित