सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा घर भत्काउदा दर्जनौं परिवार विस्थापित

मिति: २०२६-०५-२० , समय : १४:२८:५७ , गामघर डेस्क

तस्बिर : शिबनाथ यादव / गामघर टिभि

गामघर डेस्क

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ मा वडाको निर्णयअनुसार सोमबार जेसिबी प्रयोग गरी घरटहरा भत्काइएको छ। डोजर चलाइएपछि त्यहाँ बसोबास गर्दै आएका दर्जनौं परिवार प्रभावित भएका छन्।
वडा कार्यालयको निर्णय कार्यान्वयन गर्न स्थानीय प्रशासन तथा सुरक्षाकर्मीको उपस्थितिमा घरहरू हटाइएको हो। भत्काइएका संरचनामध्ये अधिकांश गरीब तथा दलित परिवारका रहेको स्थानीयवासीले बताएका छन्।
डोजर चलाउनुअघि केही समय तनावको अवस्था सिर्जना भएको थियो। महिलाहरू तथा बालबालिका घरबाट सामान निकाल्दै रोइरहेको दृश्य देखिन्थ्यो। कतिपय परिवारले घरभित्र रहेका अन्नपात, लत्ताकपडा र अन्य सामग्रीसमेत सुरक्षित गर्न नपाएको गुनासो गरेका छन्।
स्थानीयका अनुसार सार्वजनिक तथा विवादित जग्गा खाली गराउने उद्देश्यले वडा कार्यालयले निर्णय गरेपछि डोजर परिचालन गरिएको हो। तर प्रभावित परिवारले आफूहरू वर्षौंदेखि सो क्षेत्रमा बसोबास गर्दै आएको भन्दै वैकल्पिक व्यवस्था बिना घर भत्काउनु अन्यायपूर्ण भएको बताएका छन्।
घटनास्थलमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। सुरक्षाकर्मीको निगरानीबीच पक्की तथा कच्ची घरहरू भत्काइएको स्थानीयले बताएका छन्।
घर भत्काइएपछि प्रभावित परिवार अहिले आफन्त तथा छिमेकीको सहारामा बस्न बाध्य भएका छन्। वर्षायाम नजिकिँदै गर्दा उनीहरूको बासस्थानको समस्या थप जटिल बनेको छ।
स्थानीय नागरिक समाज तथा अधिकारकर्मीहरूले प्रभावित परिवारको उचित व्यवस्थापन, राहत तथा पुनःस्थापनाको माग गरेका छन्।

प्रकाशित मिति: २०२६-०५-२० , समय : १४:२८:५७ , 16 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित