१८ वर्षदेखि अलपत्र मुक्सारको खानेपानी ट्याङ्की: स्थानीय बासिन्दा काकाकुल, आश्वासनमै सीमित बन्दै योजना
मिति: २०२६-०५-२५ , समय : २०:२६:३९ , विनोद अविरल
मिति: २०२६-०५-२५ , समय : २०:२६:३९ , विनोद अविरल
तस्बिर : विनोद अविरलकाे सहयोगमा
विनोद अविरल
सिरहा ।
मधेस प्रदेशको सिराहाकाे गोलबजार नगरपालिका वडा नं. १ मुक्सारमा निर्माण सुरु गरिएको खानेपानी ट्याङ्की विगत १८ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ ।
दुई दशक पुग्न लाग्दा समेत ट्याङ्की निर्माण सम्पन्न नहुँदा स्थानीय बासिन्दाहरू शुद्ध खानेपानीको गम्भीर संकट भोग्न बाध्य भएका छन् ।
स्थानीय निकाय र सरोकारवाला निकायको चरम लापरबाहीका कारण सो खानेपानी आयोजना अलपत्र परेको स्थानीयको आरोप छ ।
मुक्सार गाउँमा शुद्ध खानेपानी पुर्याउने उद्देश्यका साथ १८ वर्षअघि ट्याङ्की निर्माणको काम थालिएको थियो । तर, निर्माण कार्यले गति लिन नसक्दा र बीचमै काम रोकिएपछि अहिले सो संरचना झाडीमा परिणत भएको छ ।
ट्याङ्की अधुरै रहँदा स्थानीय बासिन्दाहरू इनार, कल र असुरक्षित स्रोतको धमिलो पानी पिउन विवश छन्, जसका कारण वर्खायाममा पानीजन्य रोगहरूको जोखिम समेत बढेको छ ।
”१८ वर्ष भइसक्यो ट्याङ्की ठडिएको, तर एक थोपा पानी खान पाइएको छैन । नेताहरू आउँछन्, आश्वासन दिन्छन्, तर हाम्रो तिर्खा मेटिने कुनै छाँटकाँट छैन,” एक स्थानीयले आक्रोश पोखे ।
लाखौँको लागतमा सुरु गरिएको यो योजना यसरी अलपत्र पर्नुले सरकारी बजेटको दुरुपयोग मात्र देखाउँदैन, नागरिकको मौलिक हक (स्वच्छ खानेपानी पाउने अधिकार) माथि समेत खेलबाड भइरहेको पुष्टि गर्छ ।
स्थानीयहरूले गोलबजार नगरपालिका, खानेपानी डिभिजन कार्यालय र सम्बन्धित जनप्रतिनिधिहरूलाई तत्काल यो अलपत्र आयोजनाको छानबिन गरी पुनर्निर्माण कार्य अगाडि बढाउन र गाउँमा पानीको व्यवस्था गर्न जोडदार माग गरेका छन् ।
प्रकाशित मिति: २०२६-०५-२५ , समय : २०:२६:३९ , 1 hour अगाडि