सप्तरीको महुवाबाट रजनीकान्त झाकाे अपहरण : भारतीय समूहद्वारा नेपाली नागरिक अपहरण भएको आरोप, सुरक्षा निकाय बेखबर

मिति: २०२६-०५-३० , समय : ०७:४५:०३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको सीमावर्ती गाउँबाट एक नेपाली नागरिकलाई अपहरण गरी भारततर्फ लगिएको आरोप लागेको छ। बिहीबार राति करिब साढे ८ बजे छिन्नमस्ता गाउँपालिका वडा न.२, महुवा टोलनिवासी ३५ वर्षीय रजनीकान्त झा (सुमन)लाई भारतीय नम्बर प्लेटका मोटरसाइकलमा आएका हतियारधारी समूहले अपहरण गरी भारततर्फ लगेको स्थानीयले बताएका छन्।

स्थानीयका अनुसार भारततर्फबाट एउटा बुलेट र अर्को स्प्लेन्डर प्लस मोटरसाइकलमा सवार चारजनाको समूह महुवा टोल प्रवेश गरेको थियो। मुखमा नकाब लगाएका उनीहरूले घरनजिकैको बाँसघारी क्षेत्रमा रहेका झालाई जबर्जस्ती बुलेट मोटरसाइकलमा चढाएर भारततर्फ लगेका थिए।

स्थानीय राजकुमार रौनियारका अनुसार झालाई नियन्त्रणमा लिन खोज्दा उनले गुहार मागेका थिए। त्यसपछि गाउँलेले अपहरणकारीलाई लखेट्ने प्रयास गरे पनि मोटरसाइकल अत्यधिक गतिमा रहेकाले उनीहरूलाई समात्न नसकिएको उनले बताए।

पञ्जाबमा मजदुरी गर्दै आएका रजनीकान्त झा १० दिनअघि मात्रै गाउँ फर्किएका थिए। महुवा टोलबाट करिब दुई किलोमिटर दूरीमा भारतीय बजार ‘न्यौर’ पर्छ। अपहरणकारीहरू सोही बाटो हुँदै आएको स्थानीयको अनुमान छ।

घटनालाई नजिकबाट देखेका स्थानीय काशी रामका अनुसार अपहरणकारीहरूले मुखमा नकाब लगाएका कारण तत्काल कसैको पहिचान हुन सकेन। ‘सुमनलाई जबर्जस्ती समात्न खोज्दा उनले गुहार माग्दै हल्ला गरे, त्यसपछि गाउँलेहरू दौडेर लखेट्न पनि खोजेका हौँ,’ उनले भने,‘तर अपहरणकारीहरूले बाइक अत्यधिक गतिमा कुदाएर भारततर्फ लगिसकेकाले कसैलाई समात्न सकिएन।’

भारतीय समूहले निर्धक्क रूपमा नेपाल प्रवेश गरेर नागरिक अपहरण गरेको आरोपपछि सीमावर्ती महुवा टोल र आसपासका गाउँमा त्रास फैलिएको छ। नेपाल–भारत सीमा क्षेत्रमा २४ सै घण्टा सुरक्षाकर्मी तैनाथ रहँदा पनि अपहरणकारीहरूले सहजै व्यक्ति उठाएर लगेको भन्दै स्थानीयले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएका छन्।

अपहरित रजनीकान्तका काका दयाकान्त झाले भतिजको अवस्था अज्ञात रहँदा परिवार स्तब्ध बनेको बताए। ‘घरनजिकैबाट भतिजलाई उठाएर भारत लगियो, अहिलेसम्म कस्तो अवस्थामा छन् र कहाँ राखिएको छ भन्ने केही थाहा हुन सकेको छैन,’ उनले भने, ‘सीमामा सुरक्षाकर्मी बस्दाबस्दै हाम्रो मान्छे सुरक्षित भएन, हामी निकै पीडामा छौँ।’

छिन्नमस्ता गाउँपालिका– २ का वडाध्यक्ष सिकेन्द्र साहले नेपाली भूमिमै आएर नागरिक अपहरण गरिएको घटनाले सिंगो क्षेत्रमा त्रास फैलिएको बताए। उनले सीमा सुरक्षा र नागरिकको जीउधनको रक्षामा सुरक्षा निकाय थप संवेदनशील हुनुपर्नेमा जोड दिए।

‘नेपाली भूमिमै आएर निर्धक्क रूपमा नागरिक उठाइनु सामान्य कुरा होइन, यसले सीमा क्षेत्रका बासिन्दामा असुरक्षाको भावना बढाएको छ,’ वडाध्यक्ष साहले भने, ‘सुरक्षा निकायले घटनालाई गम्भीरतापूर्वक लिएर यथाशीघ्र छानबिन अघि बढाउनुपर्छ र अपहरित नागरिकको अवस्थाबारे जानकारी जुटाई तत्काल उद्धार गर्नुपर्छ।’

स्थानीयका अनुसार करिब ६ महिनाअघि पनि भारतबाट आएको एक समूहले सोही गाउँपालिकाको वडा नम्बर ६ मा स्कारपियो गाडी लिएर प्रवेश गरी घरघरमा उपद्रव मच्चाएको थियो। तर, उक्त घटनाबारे स्पष्ट जानकारी बाहिर आउन सकेको थिएन।

यता, भारतीय समूह आएर नेपाली नागरिक अपहरण गरिएको विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी राजन रायमाझीले अपहरण भएको पुष्टि नभएको बताएका छन्। उनले भने, ‘त्यस्तो केही भएको छैन, हामी अनुसन्धान गरिरहेका छौँ। नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२६-०५-३० , समय : ०७:४५:०३ , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित