‘बिटौरी’ जग्गाको लालपुर्जा प्रकरण : सप्तरीको राजविराज नगरपालिकाकाे ताला तोडिएपछि अर्धनग्न प्रदर्शन , राजविराज बजार बन्द

मिति: २०२६-०६-०९ , समय : २०:५६:१६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीको राजविराज बजारका व्यवसायीहरूले ‘बिटौरी’ जग्गाको लालपुर्जा माग गर्दै राजविराज नगरपालिका कार्यालयमा लगाएको ताला मंगलबार दिउँसो प्रहरीले तोडेको छ। ताला तोडिएपछि आक्रोशित व्यवसायीहरूले प्रदर्शन गर्दै सप्तरीको सदरमुकाम राजविराज बजार बन्द गराएका हुन्।

आन्दोलनरत व्यवसायीहरूले आफ्नो माग सम्बोधन गर्न जनप्रतिनिधिले पहल गर्नुपर्नेमा उल्टै अनसनरत व्यवसायीमाथि प्रहरी परिचालन गरेर बल प्रयोग गरिएको आरोप लगाएका छन्। आन्दोलन परिचालन समिति गठन गरी संघर्षमा उत्रिएका व्यवसायीहरूले केही स्थानीयले जनप्रतिनिधि र कर्मचारीलाई प्रभावमा पारेर बिटौरी जग्गाको लालपुर्जा प्राप्त गरिसकेको अवस्थामा आफूहरूलाई भने वञ्चित गरिएको दाबी गरेका छन्।

लालपुर्जाको माग गर्दै व्यवसायीहरू विगत तीन सातादेखि चरणबद्ध आन्दोलनमा छन्। उनीहरूले नगरपालिका कार्यालय केन्द्रित धर्ना, तालाबन्दी तथा अनसनलगायतका कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

गत आइतबार अनसनस्थलमा पुगेका टुवराज पोखरेल ले बिटौरी जग्गाको समस्या वडा कार्यालय, नगरपालिका वा भूमि प्रशासन कार्यालयबाट समाधान हुन नसक्ने जानकारी गराएका थिए। उनले सम्बन्धित मन्त्रालयहरूमा पत्राचार गरिसकिएको उल्लेख गर्दै आन्दोलनरत पक्षलाई काठमाडौं पुगेर थप पहल गर्न सुझाव दिएका थिए।

यसअघि शनिबार रामजी यादव ले पनि भिडियो संवादमार्फत स्थानीय तहबाट समस्या समाधान सम्भव नरहेको बताएका थिए। उनले भूमि सम्बन्धी समस्या समाधानका लागि हालै गठन गरिएको समितिसँग समन्वय भइसकेको जानकारी दिँदै आन्दोलनरत पक्षलाई काठमाडौं आएर छलफल गर्न आग्रह गरेका थिए।

तर, व्यवसायीहरूले ठोस निर्णय र लिखित प्रतिबद्धता नआएसम्म तालाबन्दी तथा अनसन नरोकिने अडान कायम राखेका छन्। उता आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा नगरपालिका कार्यालय बन्द रहँदा सेवा प्रवाह र विकास निर्माणसम्बन्धी कामकाज प्रभावित भएको छ। सप्तरी जागरणबाट

प्रकाशित मिति: २०२६-०६-०९ , समय : २०:५६:१६ , 1 month अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित