समाचार लेखेको निहुँमा पत्रकार देवराम यादवमाथि आक्रमण : दोषीलाई कारबाही गर्न माग

नेपाल पत्रकार महासंघ सप्तरीले घटनाको विरोध गर्दै दोषीलाई अविलम्ब कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न माग गरेको छ।

मिति: २०२६-०६-२० , समय : १७:५३:३३ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / राजविराज

गामघर डेस्क

राजविराज । नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सदस्य, प्रेस स्वतन्त्रता सेनानी, गोरखापत्र दैनिकका संवाददाता तथा प्रेस काउन्सिल नेपालका पूर्वसदस्य एवम् गामघर डटकम अनलाइनका सम्पादक देवराम यादवमाथि आक्रमण भएको छ ।

सप्तरीको महदेवा गाउँपालिकाको बाटोसम्बन्धी समाचार लेखेकै विषयलाई लिएर सो गाउँपालिकाकी उपाध्यक्ष अर्चना यादवका पति सुरेन्द्र यादवसहितको समूहले पत्रकार यादवमाथि आक्रमण गरेको पत्रकार महासंघ, सप्तरी शाखाले जनाएको छ ।

पत्रकार यादवका अनुसार हुलाकी राजमार्गअन्तर्गत खाँडो पुलमा कुरा गरेर बसिरहेको अवस्थामा सुरेन्द्रसहितको समूहले एक्कासी हेलमेट प्रहार गरी कुटपिट गरेको हो।

घटनाप्रति विरोध जनाउँदै पत्रकार महासंघले जिम्मेवारी निर्वाह गरिरहेका पत्रकारमाथि कुटपिट हुनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा नागरिकको सुरक्षा, बाँच्न पाउने अधिकार र व्यक्तिगत स्वतन्त्रतामाथि धावा बोल्ने यस्ता आपराधिक कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने जनाइएको छ।

यस्तै सम्बन्धित पक्षले आक्रमणमा संलग्न व्यक्तिहरूलाई अविलम्ब कानुनी दायरामा ल्याई कडा कारबाही गर्न स्थानीय प्रशासन र नेपाल सरकारसँग नेपाल पत्रकार महासंघ सप्तरी शाखाका सचिव डम्बर राईले माग गरेका छन्।

साथै कुटपिटबाट घाइते पत्रकार यादवको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्था मिलाउन समेत सम्बन्धित निकायसँग आग्रह गरिएको छ।


यता कुटपिटबाट घाइते भएका पत्रकार यादवको राजबिराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । यता गामघर मिडिया प्रा.लि. का अध्यक्ष एवम् प्रधान सम्पादक शुभ नारायण यादवले समेत एक विज्ञप्ति जारी गरि उक्त घटनाको वास्तविक छानवीन गरि कुटपिट गर्नेमाथि कानुनी कार्वाही हुनुपर्ने जाेडदार रुपमा माग गरेको छ ।

प्रकाशित मिति: २०२६-०६-२० , समय : १७:५३:३३ , 2 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित