मधेस प्रदेशको सिमामा अझै राेकिएन तस्करी : बिओपीकै अगाडिबाट दिनहुँ भैंसी तस्करी !
मधेस प्रदेशको बाराको कबहीगोठ नाकामा कसको संरक्षणमा चल्दैछ अवैध कारोबार?
मिति: २०२६-०६-२८ , समय : ०८:४३:१६ , गामघर डेस्क
मिति: २०२६-०६-२८ , समय : ०८:४३:१६ , गामघर डेस्क
तस्बिर : सामाजिक सन्जालबाट
गामघर डेस्क
काठमाडौं । भारतसँग जोडिएको बाराको कबहीगोठ सीमा नाका पछिल्ला दिनहरूमा भैंसी तस्करीको प्रमुख मार्ग बनेको स्थानीय स्रोतहरूले बताएका छन्। सीमा सुरक्षाको जिम्मेवारीमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) र चेकपोस्टकै अगाडिबाट दिनहुँजसो भारतबाट नेपालतर्फ भैंसी अवैध रूपमा भित्र्याइने गरेको आरोप उठेको छ।
स्थानीयका अनुसार यो कुनै एक दिनको घटना होइन। भारतबाट दैनिक ८ देखि १० वटासम्म भैंसी बिहानको समयमा नेपाल भित्र्याइने गरिएको छ। तस्करहरूले बिहानको समय रोज्ने गरेका छन् र भैंसीहरू सशस्त्र प्रहरीको चेकपोस्ट हुँदै सहज रूपमा प्रवेश गर्ने गरेको दाबी गरिएको छ। यसले सीमा सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ।
यस संवाददाताले शनिबार बिहान कबहीगोठस्थित बिओपीका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक प्रकाशराज पन्तसँग टेलिफोन सम्पर्क गरी “आज पनि भैंसी तस्करी भएको हो, किन नियन्त्रण गरिएन?” भन्ने प्रश्न राख्दा उनले, “हो र? म चेकपोस्टमा सोध्छु,” भन्दै फोन काटेका थिए। घटनाबारे तत्कालै स्पष्ट जवाफ नदिनु र अधीनस्थ चेकपोस्टमा सोधपुछ गर्ने प्रतिक्रिया दिनुले सीमा
निगरानी र कमाण्ड प्रणालीको प्रभावकारितामाथि थप प्रश्न उठाएको छ।
दिनहुँको तस्करी, नियन्त्रण भने शून्य
सीमा क्षेत्रमा कार्यरत स्रोतहरूका अनुसार भैंसी तस्करी कुनै छिटपुट गतिविधि नभई संगठित रूपमा सञ्चालन भइरहेको छ। तस्करहरूले निश्चित समय, निश्चित मार्ग र निश्चित समूहमार्फत भैंसी ओसारपसार गरिरहेको दाबी छ। यदि दैनिक ८–१० वटा भैंसी खुलेआम सीमा पार गराइँदै छन् भने सम्बन्धित सुरक्षा निकायलाई त्यसको जानकारी नभएको विश्वास गर्न कठिन हुने स्थानीयको भनाइ छ।
स्थानीय व्यवसायीहरू भन्छन्, “दिनहुँ एउटै नाकाबाट भैंसी आउँछ, सबैले देख्छन्। तर नियन्त्रण गर्ने निकायले नदेख्नु आश्चर्यजनक छ।”
डिआइजी परिवर्तनसँगै बढेको अपेक्षा
सशस्त्र प्रहरी बलको मधेश प्रदेशमा डिआइजी विष्णु भट्टको सरुवा भएपछि सीमामा हुने चोरी–तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको थियो। सीमाक्षेत्रमा कडाइ, तस्करी नियन्त्रण र मातहतका इकाइको जवाफदेहिता बढ्ने विश्वास स्थानीयमा थियो।
तर कबहीगोठ नाकाको अवस्था भने अपेक्षाअनुसार परिवर्तन हुन नसकेको देखिएको छ। स्थानीय स्रोतहरूका अनुसार तस्करीको गतिविधि रोकिएको छैन, बरु पुरानै शैलीमा निरन्तर भइरहेको छ। यसले प्रदेश नेतृत्वले दिएका निर्देशन मातहतका कमान्डर तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन भएको छ कि छैन भन्ने प्रश्न उठाएको छ।
मातहतको कमजोरी कि संगठित मिलेमतो?
सीमा क्षेत्रमा लामो समयदेखि हुने तस्करीका घटनाले दुईवटा सम्भावना देखाउँछन्। पहिलो, सुरक्षा निगरानी अत्यन्त कमजोर छ। दोस्रो, तस्करीमा संलग्न समूह र केही सुरक्षाकर्मीबीच मिलेमतो हुन सक्छ। यद्यपि, यसको पुष्टि हुन बाँकी छ र सम्बन्धित निकायले निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकता देखिन्छ।
यदि बिओपी र चेकपोस्टकै अगाडिबाट नियमित रूपमा भैंसी ओसारपसार भइरहेको हो भने यो सामान्य लापरबाहीको विषय मात्र होइन, सुरक्षा संयन्त्रमाथिको गम्भीर चुनौती पनि हो।
अवैध रूपमा भित्रिने भैंसीका कारण सरकारले भन्सार राजस्व गुमाउने मात्र होइन, पशु स्वास्थ्यसम्बन्धी जोखिम पनि बढ्ने विज्ञहरूको भनाइ छ। आवश्यक क्वारेन्टिन प्रक्रिया, स्वास्थ्य परीक्षण र कानुनी मापदण्ड पूरा नगरी पशु भित्रिँदा संक्रामक रोग फैलिने सम्भावना रहन्छ। त्यसको प्रत्यक्ष असर स्वदेशी पशुपालक र उपभोक्तामाथि पर्न सक्छ।
कबहीगोठ नाकाबाट भइरहेको भनिएको भैंसी तस्करीका विषयमा सशस्त्र प्रहरी बलको मधेश प्रदेश कार्यालय र उच्च नेतृत्वले तत्काल स्थलगत अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएको छ। चेकपोस्टको सीसीटीभी, ड्युटी रजिस्टर, गस्ती विवरण तथा सम्बन्धित सुरक्षाकर्मीको भूमिकामाथि निष्पक्ष छानबिन भए मात्र वास्तविकता बाहिर आउन सक्छ।
सीमा सुरक्षाको उद्देश्य अवैध गतिविधि रोक्नु हो, तस्करीलाई सहज बनाउनु होइन। यदि स्थानीयले उठाएका प्रश्न सत्य हुन् भने दोषी जोसुकै भए पनि कानुनी कारबाही हुनुपर्छ। तर यदि आरोप निराधार छन् भने त्यसको पनि तथ्यसहित सार्वजनिक स्पष्टीकरण आउन आवश्यक छ।
कबहीगोठ नाकामा भइरहेको भनिएको भैंसी तस्करीको वास्तविकता के हो भन्ने प्रश्नको उत्तर अब सम्बन्धित निकायको निष्पक्ष अनुसन्धानले मात्रै दिन सक्छ। त्यसअघि भने सीमा सुरक्षाको प्रभावकारिता र मातहतका सुरक्षा संयन्त्रको जवाफदेहितामाथि उठेका प्रश्नहरू अझै अनुत्तरित नै छन्। नव जनप्रहाारबाट
प्रकाशित मिति: २०२६-०६-२८ , समय : ०८:४३:१६ , 1 hour अगाडि