अझै राेकिएन तस्करी : सप्तरीको सीमानाकामा तस्करीको साम्राज्य ?

घुमुवा प्रहरीमाथि प्रश्नै–प्रश्न, करोडौं राजश्व चुहावटमा कसको संरक्षण ?

मिति: २०२६-०६-३० , समय : ०८:२६:३५ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज । नेपाल प्रहरीभित्र पछिल्लो समय लामो समयदेखि एउटै स्थानमा बसेर विवादित बनेका घुमुवा प्रहरीहरूको सरुवा तथा व्यवस्थापनलाई लिएर व्यापक बहस चलिरहेको छ। मधेश प्रदेशका विभिन्न जिल्लामा वर्षौंदेखि एउटै जिम्मेवारीमा बसेर बदनाम बनेका प्रहरी कर्मचारीहरूलाई प्रदेश परिवर्तनसम्म हुने गरी सरुवा र काज गरिएको अवस्थामा सप्तरीमा कार्यरत केही घुमुवा प्रहरी भने अझै यथावत् रहनुले अनेक प्रश्न जन्माएको छ।
विशेषगरी प्रहरी चौकी बेलहीमा कार्यरत घुमुवा प्रहरी सहायक हवल्दार विनोद यादव तथा जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत घुमुवा प्रहरी वरिष्ठ हवल्दार रामशंकर यादवको भूमिकालाई लिएर स्थानीय स्तरमा प्रश्न उठ्न थालेका छन्। प्रहरी संगठनभित्रै सरसफाइ अभियान चलिरहेको दाबी गरिए पनि लामो समयदेखि एउटै क्षेत्रमा कार्यरत यी प्रहरी कर्मचारीहरू किन सरुवामा परेनन् भन्ने प्रश्न अहिले प्रमुख रूपमा उठिरहेको छ।
स्थानीय स्रोतहरूका अनुसार भारतसँग जोडिएको रमपुरा मलहनिया सीमावर्ती क्षेत्र हुँदै विभिन्न प्रकारका कपडा तथा किराना सामानको अवैध ओसारपसार भइरहेको आरोप छ। उक्त सामान टिकुलिया, सशस्त्र प्रहरीको क्याम्प रहेको क्षेत्र हुँदै हनुमाननगर, भारदह र राजविराजसम्म पु¥याइने गरिएको स्थानीयको दाबी छ।
स्थानीय स्तरमा चर्चामा रहेका केही व्यापारीहरूमा ललन मण्डल, सुसिला मण्डल, गणेश मेहता, अरुण यादव, कृष्णा दास, बुचिया मण्डल, रेखा मण्डल, ललिया मण्डल, हरि मण्डल, शिवशंकर साह तथा सरिता दास रहेका छन्। उनीहरू कपडा, किराना तथा अन्य भारतीय सामानको कारोबारसँग जोडिएका व्यक्तिहरू भएको स्थानीय स्रोतहरूको भनाइ छ। यद्यपि सम्बन्धित व्यापारीहरूले यी आरोपबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन्।
सबैभन्दा गम्भीर प्रश्न भनेको सीमावर्ती क्षेत्रदेखि राजविराजसम्मको मार्गमा चारवटा प्रहरी चौकी तथा विभिन्न सुरक्षा संयन्त्र सक्रिय रहँदा पनि अवैध सामानको ओसारपसार कसरी सम्भव भइरहेको छ भन्ने हो। यदि तस्करी भइरहेको छैन भने बारम्बार यस्ता गुनासाहरू किन उठिरहेका छन् ? र यदि भइरहेको छ भने त्यसलाई रोक्ने जिम्मेवारी कसले पूरा गरिरहेको छैन ?
स्थानीयवासी तथा व्यवसायीहरूको एक समूहका अनुसार सीमाक्षेत्रमा हुने अवैध कारोबार कुनै एक व्यक्ति वा समूहको भरमा सम्भव नहुने भएकाले सुरक्षा निकायभित्रकै केही व्यक्तिको संरक्षण र सेटिङको आशंका बलियो बन्दै गएको छ। उनीहरूको दाबी अनुसार सीमावर्ती क्षेत्रमा रातको समयमा बढी मात्रामा सामान भित्रिने र पछि विभिन्न बजारसम्म पुग्ने गरेको देखिन्छ।
यता प्रहरी स्रोतहरूले पनि अनौपचारिक रूपमा कर्मचारी प्रशासन शाखासम्म राम्रो पहुँच र प्रभाव भएका केही घुमुवा प्रहरीहरू लामो समयदेखि एउटै क्षेत्रमा टिकिरहेको बताउने गरेका छन्। यद्यपि यसबारे नेपाल प्रहरीको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।
पछिल्लो समय सप्तरीमा नयाँ प्रहरी उपरीक्षक (एसपी) को आगमनसँगै सीमाक्षेत्रमा हुने चोरी–तस्करी नियन्त्रण हुने अपेक्षा गरिएको थियो। तर स्थानीय तहमा भने अपेक्षाअनुसार सुधार नदेखिएको गुनासो बढिरहेको छ। सीमाबाट हुने कथित तस्करी नियन्त्रण हुन नसक्दा राज्यले दैनिक लाखौं रुपैयाँ बराबरको राजश्व गुमाइरहेको आरोप छ।
राजश्व चुहावटको असर केवल सरकारी ढुकुटीमा मात्र सीमित रहँदैन। वैधानिक रूपमा भन्सार तिरेर व्यवसाय गर्ने व्यापारीहरू समेत मारमा पर्ने गरेका छन्। अवैध रूपमा भित्रिने सामानले बजार मूल्यमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना गर्ने भएकाले वैधानिक व्यापार धराशायी हुने जोखिम बढ्दै गएको व्यवसायीहरू बताउँछन्।
सुरक्षा विज्ञहरूका अनुसार सीमाक्षेत्रमा कार्यरत प्रहरी तथा सुरक्षा निकायका कर्मचारीहरूको नियमित सरुवा, निगरानी तथा सम्पत्ति छानबिन प्रभावकारी रूपमा हुन सके मात्र यस्ता आरोपहरूको अन्त्य हुन सक्छ। एउटै क्षेत्रमा वर्षौंदेखि कार्यरत कर्मचारीमाथि स्वाभाविक रूपमा प्रभाव, पहुँच र स्वार्थ समूहसँगको सम्बन्धबारे प्रश्न उठ्ने भएकाले संगठनले पारदर्शी ढंगले निर्णय गर्नुपर्ने उनीहरूको सुझाव छ।
अहिले उठिरहेको मुख्य प्रश्न सरल छ—मधेश प्रदेशका अन्य जिल्लाबाट विवादित र लामो समयदेखि बसेका प्रहरी कर्मचारीहरूलाई सरुवा गरिँदा सप्तरीका केही घुमुवा प्रहरीहरू किन यथावत् छन् ? उनीहरूको कार्यसम्पादन मूल्यांकन के छ ? उनीहरूमाथि उठेका आरोपबारे कुनै आन्तरिक अनुसन्धान भएको छ कि छैन ? र सीमाबाट भइरहेको भनिएको अवैध कारोबार रोक्न प्रहरी संगठनले के कदम चालेको छ ?
यी प्रश्नहरूको जवाफ सम्बन्धित निकायले दिन नसकेसम्म सप्तरीको सीमाक्षेत्रमा हुने भनिएको तस्करी, प्रहरी सेटिङ र राजश्व चुहावटबारेको बहस अझै चर्किने निश्चित देखिन्छ। राज्यको राजश्व, वैधानिक व्यापार र सुरक्षा संयन्त्रको विश्वसनीयतासँग जोडिएको यो विषयमा निष्पक्ष छानबिन र पारदर्शी जवाफदेहिता आजको प्रमुख आवश्यकता बनेको छ। तर जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी भने आफू भर्खरै हाजिर भएकोले सबै बुझ्दै गरेको बताउँछन् । नव जनप्रहारबाट

प्रकाशित मिति: २०२६-०६-३० , समय : ०८:२६:३५ , 1 hour अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित