नेपाल सदभावना पार्टीद्वारा गजेन्द्र बावुकाे शालिकमा माल्यार्पण
माग पुरा नभए निकट भविष्यमै ठुलो आन्दोलन हुने चेतावनी
मिति: २०२३-०४-१७ , समय : १३:५१:५५ , दिनानाथ यादव
मिति: २०२३-०४-१७ , समय : १३:५१:५५ , दिनानाथ यादव
दिनानाथ यादव
राजविराज । सप्तरीको राजविराजमा नेपाल सदभावना पार्टीले ३४ औं स्थापना दिवस मनाउनु भएको छ।आईतवार राजविराज स्थित गजेन्द्र चौकमा रहेको संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिंहको शालिकमा माल्यार्पण गर्दै सो स्थापना दिवस मनाउनु भएको हो।
नेपाल सदभावना पार्टीका संस्थापक राष्ट्रिय अध्यक्ष स्व गजेन्द्र नारायण सिंहले २०४७ वैशाख ३ गते नेपाल सद्भावना पार्टीको स्थापना गर्नु भएको थियो। उहाँले मधेश र मधेशीहरुको हक अधिकार सुनिश्चितताको लागि संघर्ष गरेर मधेशीहरुको हक अधिकार र पहिचान स्थापित गरेकाले पार्टी ३४औं वर्षमा प्रवेश गरेकोले विभिन्न जिल्लामा स्थापना दिवस मनाएको नेपाल सदभावना पार्टीले जनाएको छ। उक्त अवसरमा नेपाल सदभावना पार्टीका नेताकार्यकर्ताले गजेन्द्र चौक स्थित रहेको सिंहको शालिकमा फूलमाला अर्पण गर्नु भयो।
नेपाल सदभावना सप्तरीका अध्यक्ष गंगा प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष दशरथ यादवले किसान, मजदुर, दलित, पिछडावर्ग एवं मधेशको हक अधिकार र मुद्दा लगायतका समस्याहरुलाई समाधान हुनुपर्नेमा जोड दिनु भयो। मधेशको सिमा सुरक्षा, सिमा पारी जनताहरुलाई सजिलो तथा आवतजावतमा हुने समस्या समाधान हुनुपर्छ, वरिष्ठ उपाध्यक्ष यादवले भन्नुभयो। यसैगरी कृषकहरुलाई खेती गर्न अनुदान समेत अनिवार्य रुपमा उपलब्ध गराउनु पर्ने बताउनु भयो।
यसैबीच केन्द्रीय उपाध्यक्ष रामपृत यादवले बैंकको चर्को व्याजदरबाट पिडित जनतालाई सहुलियत र सरल गर्नुपर्ने बताउनु भयो। गजेन्द्रनारायण सिंहको विचार अझै वर्तमान समय समसमायीक रहेकोले टिप्पणी गर्दै उहाँले प्राप्त अधिकारको संरक्षण र थप अधिकार सुनिश्चितताका लागि संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो। पूर्ण समावेशी, समानुपातिक निर्वाचन प्रणाली र स्थानिय तहमा दलको विना स्वतन्त्र रुपमा टिकट लिएर लडन पाउने, व्यापक भ्रष्टाचारको अन्त्य, देशको पुनः संरचनाको माग गर्नु भयो। नेपाल सदभावना पार्टीको पूर्व माग यथावत रहेको बताउदै उहाँले माग सम्बोधन नभए आउने दिनमा ठुलो आन्दोलन हुने चेतावनी दिनु भयो।
उक्त कार्यक्रममा केन्द्रीय सदस्य दिनेश्वर झा, सिरहाका अध्यक्ष जिवछ यादव लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थित रहेको थियो।
प्रकाशित मिति: २०२३-०४-१७ , समय : १३:५१:५५ , 2 years अगाडि